सशस्त्र समूहद्वारा ३१७ नाइजेरियाली विद्यार्थी अपहरण 

शुक्रबार, फागुन १४, २०७७

कानो । नाइजेरियाको उत्तरपश्चिम  क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ । अपहरित विद्यार्थीको खोजी भइरहेको बताइएको छ ।
प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘सशस्त्र समूहले विद्यालयलाई नियन्त्रणमा लिई एउटा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ । विद्यार्थीहरू शुक्रबारसम्म सम्पर्कविहीन छन् । जाम्फारा राज्यको प्रहरी कमाण्डले सेनाको समन्वयमा संयुक्तरूपमा खोजी तथा उद्धार कार्यलाई अघि बढाएको छ ।’
स्थानीयका अनुसार एक आपराधिक सशस्त्र डाँकाहरूको समूहले उत्तरपश्चिम क्षेत्रको विज्ञान विषय पढाई हुने उक्त विद्यालयबाट विद्यार्थीहरूलाई अपहरण गरी लगेका हुन् । पछिल्ला वर्षहरूमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महत्वपूर्ण सम्पत्ति लुट्ने गरेका घटनाहरू पटकपटक सञ्चारमाध्यममा आएका छन् ।
गत हप्ता पनि उक्त समूहले यही क्षेत्रबाट ४२ किशोरलाई विद्यालयबाट अपहरण गरेका थिए । गत डिसेम्बरमा पनि कन्कारा र राष्ट्रपति मुहम्मद बुहारीको गृहराज्य कात्सिनाबाट उनी त्यही राज्यमा भ्रमण गरिरहेका समय विद्यालयका करिब ३०० किशोरहरूलाई अपहरण गरेका थिए । दुई महिना पहिलेको उक्त अपहरणको केही समयपछि विदार्थीहरूलाई छोडिएको थियो । पछिल्लो अपहरणबारे नाइजेरियाको संघीय सरकारको कुनै प्रतिक्रिया आइसकेको छैन ।

स्वास्थ्यकर्मीलाई खोप तालिम

नाइजेरियाका स्वास्थ्यकर्मीहरूलाई कोरोनाभाइरस विरुद्धको खोपसम्वन्धी तालिम दिइएको छ । देशभरीका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको अधिकारीहरूले जनाएका छन् । उनीहरूलाई तालिम दिएसँगै खोप अभियान सञ्चालन गर्नका लागि आवश्यक मुख्य काम तयारी अवस्थामा पुगेको छ । पहिलो चरणमा कम्तीमा १३ हजार स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको प्राथमिक स्वास्थ्य सेवा विकास कार्यालयका प्रमुख फैसल शुआइबले जानकारी दिए । अरु स्वास्थ्यकर्मीहरुलाई अर्को चरणमा तालिम दिइने र आवश्यकता अनुसार उनीहरुलाई परिचालन गरिने उनले बताए ।–सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  २१:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार