फ्रान्सले खोप लगाएका यात्रुका लागि कोभिड परीक्षण नियम खारेज गर्ने 

मंगलबार, माघ २५, २०७८

पेरिस, २५ माघ । फ्रान्सले खोप लगाएका युरोपेली सङ्घ बाहिरका यात्रुका लागि चाँडै नै कोभिड सङ्क्रमण भएको वा नभएको परीक्षण गर्नुपर्ने प्रावधानलाई छिट्टै हटाउने भएको छ ।  दैनिक रूपमा सङ्क्रमणको सङ्ख्या घट्दै गएपछि फ्रान्सले यस प्रावधानलाई क्रमशः खुकुलो पार्दै हटाउन लागेको युरोप मामिला मन्त्री क्लेमेन्ट बेउनले बताएका छन् ।  “डिसेम्बर महिनामा फेरि हामीले ओमिक्रोन भेरिएन्टको परीक्षण गर्नुप¥यो । आगामी दिनहरूमा हामी खोप लागेका मानिसहरूका लागि परीक्षणको आवश्यकता छैन भनेर घोषणा गर्नेछौँ,” बेउनले फ्रान्स–२ टेलिभिजनसँग बताए ।   हाल बेलायतलगायत ईयू बाहिरबाट आउने जो कोहीले पनि खोपको स्थिति जस्तोसुकै भएपनि ४८ घण्टा पहिले कोभिड सङ्क्रमण परीक्षण गरेको रेकर्ड देखाउनुपर्ने भएको व्यवस्था छ ।
“यो हप्ता सम्भवतः सजिलो उपायका साथ, युरोप बाहिरबाट आइपुगेका खोप लगाएका मानिसहरूका लागि एउटा नयाँ युरोपेली नियम बन्नेछ,” उनले  थपे ।  युरोपेली सरकारका सदस्यहरू विशेष गरी युरोपेली समूह राष्ट्रभित्रको सिमाना पार गर्ने मानिसहरूका लागि आफ्नो यात्रा नियमहरू अझ राम्रोसँग समन्वय गर्न जनवरी २५ मा सहमत भएका हुन् ।  ओमिक्रोन वृद्धिले इटाली र डेनमार्कले युरोप क्षेत्रका बासिन्दाहरूलाई पनि प्रवेश गर्नका लागि हालसालै कोभिड परीक्षण सङ्क्रमण नभएको पुष्टि गर्ने कागजात पेस गर्ने प्रावधानलाई लागू गरेका थिए ।  उनीहरूले आफ्नो मुलुकमा प्रवेशका लागि राखेका नयाँ प्रावधानहरूका साथै खोप प्रमाण लागू गर्न उत्प्रेरित गरेपछि यस निर्णयले ब्रसेल्सका अधिकारीहरू बेखुसी बनेका थिए । यद्यपि यसलाई पछि अन्य युरोपेली मुलुकहरूले पनि नक्कल गरेका थिए ।
फ्रान्सेली अधिकारीहरूले यस महिनामा कोभिड प्रतिबन्धको शृङ्खला हटाउन थालेका छन् । फ्रान्समा फेब्रुअरी १६ देखि अवरूद्ध बनेका रात्रिक्लबहरू कन्सर्ट र खेलका साथसाथै बारलाई पुनः खोल्ने तयारी गरिरहेको छ ।  सोमबार फ्रान्समा ४६ हजारभन्दा बढी सङ्क्रमित भएको पुष्टि गरिएको थियो । यसै वर्षको जनवरीको मध्यतिर प्रतिदिन चार लाख ६५ हजारभन्दा बढी सङ्क्रमणहरूको रेकर्ड गरेको फ्रान्समा ४६ हजार सङ्क्रमित हुनुलाई सामान्य मानिन थालिएको छ ।– रासस/एएफपी
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २१:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार