एउटा चुनावले ‘सत्यको क्षय’ लाई रोक्ने छैन : ओबामा 

सोमबार, मंसिर १, २०७७

 वासिङ्टन । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले अमेरिका सामू देशलाई गहिरोसँग विभाजित गर्ने ‘सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरू’लाई उल्टाउनुपर्ने ठूलो काम रहेको बताएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा ओबामाले चार वर्षअघिको तुलनामा अमेरिका अझ गहिरोसँग विभाजित भएको बताए । चार वर्षअघि डोनल्ड ट्रम्प राष्ट्रपति चुनिएका थिए ।
ओबामाले सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडनको विजय त्यस्ताखाले विभाजनहरूको मर्मत गर्ने सुरुवात मात्र भएको बताए । उनले भने, ‘ती प्रवृत्तिहरूलाई उल्ट्याउन एउटा चुनावभन्दा धेरै समय लाग्नेछ ।’
ध्रुवीकरण भएको राष्ट्रसँग जुझ्न राजनीतिज्ञहरूको निर्णयलाई मात्र छाड्न नसकिने उनको तर्क छ ।
ओबामाले जो बाइडनसँग ‘अहिलेको अवस्थामा एउटा राष्ट्रपतिसँग हुनुपर्ने सबै गुणहरू भएको’ बताएका छन् । त्यसका लागि संरचनागत परिवर्तन र मानिसहरूले एक अर्कालाई सुन्नुपर्नेमा उनले जोड दिए । यद्यपि उनले आगामी पुस्ताको ‘परिष्कृत’ सोचमा ‘ठूलो आशा’ देखेको बताए । ओबामाले युवापुस्तालाई ‘विश्वलाई परिवर्तन गर्नसक्ने सावधानीपूर्ण आशावादको सञ्चार गर्न’ र ‘त्यो परिवर्तनको हिस्सा बन्न’ पनि आह्वान गरे ।

अमेरिकामा कसरी विभाजन बढाइयो ?
उनको नयाँ संस्मरणको प्रवर्धन गर्न बीबीसी आर्टस्का लागि इतिहासकार डेभिड ओलुसोगाले लिएको अन्तर्वार्तामा ओबामाले अमेरिकामा विभाजन बढ्नुको कारण बताएका छन् । उनका अनुसार ग्रामीण र सहरी अमेरिका बीचको आक्रोश र अप्रसन्नता, आप्रवासन, अन्यायजस्तै असमानता र सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरू जस्ता कुरा जसलाई केहीले सत्यको क्षय पनि भनेका छन्ले विभाजन बढाएको हो । उनले यस्ता कुरालाई केही अमेरिकी सञ्चारमाध्यमद्वारा प्रवर्धन गरियो र सामाजिक सञ्जालद्वारा थप बलियो पार्ने काम गरियो भनेका छन् ।
उनले भने, ‘हामी अहिले धेरै नै विभाजित छौँ, वास्तवमै म सन् २००७ मा पहिलो पटक राष्ट्रपतिको दौडमा सामेल हुँदाभन्दा र मैले २००८ मा राष्ट्रपति चुनाव जित्दाभन्दा ।’
उनले राष्ट्रपति ट्रम्पले आफ्नो राजनीतिक फाइदाका लागि यस्ता कुरालाई बढावा दिएको आरोप पनि लगाए ।
कहिलेकाहीँ अन्य कुराले पनि यस्ता विषयमा योगदान गरेको र अनलाइनहरूबाट गलत सूचनाहरू फैलिएको ओबामाको भनाइ छ ।–बीबीसी 
 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७  १३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार