सोसल मिडिया
Contact Us
युनिकोड
कोलम्बो, १८ माघ । श्रीलङ्गकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको भए पनि देशव्यापी लकडाउन गर्न भने अस्वीकार गरिएको छ । देशका स्वास्थ्य अधिकारीहरूले अहिले लकडाउन लगाउनु उपयुक्त नहुने भन्दै खोप लगाउने अभियानलाई तीव्रता दिन सुझाव दिएका हुन् । कोरोना भाइरसको नयाँ भेरिएन्टको रूपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रूपमा फैलिएकाले देशव्यापी लकडाउन लागू गर्ने बारेमा छलफल भएको थियो । खोपको दोस्रो मात्रा लगाएकाहरूलाई बुस्टर डोज लगाउन पनि जोड दिइने अधिकारीहरूले जनाएका छन् । विज्ञ तथा सरोकारवालाको आन्तरिक संयुक्त बैठकमा अहिले लागू भइरहेका कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरूलाई भने निरन्तरता दिनु उपयुक्त हुने सुझाव आएको थियो । उनीहरूले सामाजिक दूरी कायम गर्नुपर्ने, भीडभाड गर्न नहुने र मास्क अनिवार्य लगाउनुपर्ने लगायतका नियमलाई भने कडाइका साथ कार्यान्वयन गराउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो औपचारिक विवरणअनुसार आइतबार र सोमबारमा एक हजार नयाँ सङ्क्रमित थपिएका छन् । सन् २०२० को मार्चदेखि अहिलेसम्म श्रीलङ्गकामा छ लाख ११ हजार १८५ जना कोरोना भइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १५ हजार ४४१ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।– रासस/सिन्ह्वा