सोसल मिडिया
Contact Us
युनिकोड
जाकार्ता । इन्डोनेसियामा कोरोनाभाइरसविरुद्धको खोप शिक्षकहरूलाई लगाउन थालिएको छ । राष्ट्रपति जोको विडोडोले बुधबारदेखि विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई खोप लगाउन थालिएको जानकारी दिए । देशका ३३ प्रान्तमा खोप अभियान सुरु गरिएको छ । यो क्रम केही समय चल्ने छ । देशभरी झण्डै ५० लाख शिक्षक तथा विद्यालय कर्मचारीहरू रहेकाले उनीहरूलाई आगामी जुलाईसम्ममा खोप लगाएर सकिने सरकारी अधिकारीहरूको अनुमान छ । ‘शिक्षक तथा विद्यालयका कर्मचारीहरूले लाखौँ विद्यार्थीहरूसँग प्रत्यक्ष संसर्गमा रहेर काम गर्नुपर्ने भएकाले उनीहरूलाई प्राथमिकताको सूचीमा राखेर खोप लगाउन थालिएको हो’, राष्ट्रपति विडोडोले भने । इन्डोनेसियामा आमरूपमा कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान गत जनवरी १३ तारिखदेखि सुरु भएको हो । इन्डोनेसियामा अहिले दुई करोड ८० लाख चिनियाँ खोप रहेको र त्यो लगाउने क्रम चलिरहेको अधिकारीहरूले जनाएका छन् ।
हङ्गेरीमा चिनियाँ खोपको प्रयोग
युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग भएको छ । हङ्गेरीमा बुधबारदेखि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप सिनोफार्म लगाउन थालिएकाले चिनियाँ खोप प्रयोग गर्नेमा हङ्गेरी पहिलो र एक मात्र युरोपेली मुलुक भएको हो । प्रधानमन्त्री भिक्टर अर्बानले पनि चिनियाँ खोप प्रयोग गर्नेमा आफ्नो देश पहिलो र एक मात्र युरोपेली मुलुक भएको बताए । झण्डै एक करोड जनसङ्ख्या रहेको यस मुलुकका लागि झण्डै ५० लाख खोप माग गरिएको छ । युरोपेली मुलुकहरूमा विकास गरिएको खोप नलगाइएको भन्दै कतिपयले हङ्गेरीको आलोचना पनि भएको छ । हङ्गेरीमा कोरोनाभाइरसका कारण अहिलेसम्म १४ हजार ५५२ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।–एएफपी