भारतमा मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने

बिहीबार, फागुन १३, २०७७

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई खोप लगाइने छ । त्यसैगरी दीर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरूले जानकारी दिए । 
केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा जानकारी दिएका हुन् । सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरूले भने आफैँले रकम तिर्नु पर्ने व्यवस्था गरिएको उनले बताए । खोप लगाउनका लागि देशभरी सरकारी क्षेत्रबाट दश हजारभन्दा बढी खोप केन्द्रहरू तोकिएको र निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्रहरू खोलिएका छन् । निजी क्षेत्रले लिने शुल्क पनि सरकारले तीन÷चार दिनपछि तोकिदिने केन्द्रीय मन्त्री जवादेकरले जानकारी दिए । भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएको छ । कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित मुलुकहरूको अग्रपङ्त्तिंmमा पर्ने भारतले गत जनवरी १६ देखि पहिलो चरणको खोप अभियान सुरु गरेको हो । ‘दोस्रो चरणमा लगाउनका लागि हामीसँग झण्डै १४ लाख खोप तयारी अवस्थामा रहेको छ, यो खोप अधिकांश वृद्धवृद्धालाई नै दिइने छ’, मन्त्री जवाडेकरले भने । भारतमा पहिलो चरणमा स्वास्थ्यकर्मीसहित अग्रपङ्क्तिंमा खटिएका व्यक्तिहरूलाई खोप लगाउने व्यवस्था गरिएको थियो । भारतमा प्राथमिकता क्रम निर्धारण गरेर खोप लगाउने गरिएको छ । भारत आफैँले उत्पादन गरेको खोप लगाउने अभियान चलिरहे पनि कोरोनाबाट मृत्यु हुनेक्रम रोकिएको छैन ।  बुधबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा १०४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी सोही अवधिमा १३ हजार ७४२ जना नयाँ सङ्क्रमित थपिएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरूको यो सङ्ख्या अघिल्लो दिनको भन्दा धेरै हो । 
भारतले आफूले उत्पादन गरेको खोप आफ्ना नागरिकसँगै विश्वका धेरै देशलाई पनि प्रदान गरेको छ । यसले अन्तर्राष्ट्रिय जगत्मा भारतको छवि थप राम्रो भएको छ ।–एएनआई

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  ०४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार