सोसल मिडिया
Contact Us
युनिकोड
सोलुखुम्बु, १७ माघ : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका चिसोबाट प्रभावित विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ । जिल्ला विपद् कोषबाट खर्च हुने गरी प्रशासन कार्यालय सोलुखुम्बुले तिङ्लाका २५ घर विपन्न परिवारलाई आइतबार एक-एकवटा फाइबरको कम्बल र ३०÷३० केजी चामल सहयोग गरेको हो । गृहमन्त्री बालकृष्ण खाँड र गृह सचिवको योजनाअनुसार सहयोग गरिएकोे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताउनुभयो । अति नै विपन्न भएकै कारण चिसोबाट पीडित भएकाको पहिचान गरी अन्य स्थानमा समेत उक्त कार्यक्रम गरिने उहाँको भनाइ छ । चिसोबाट कोही पनि नागरिकलाई कष्टकर जीवन बताउँन नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
सहयोग पाएपछि स्थानीयवासी हर्षित
प्रशासन कार्यालयको सहयोगले गर्दा दिनभरि ज्याला मजदुरी गरी बिहानबेलुका चुलो बाल्नका लागि निकै ठूलो राहत मिलेको छत्रबहादुर भुजेलले बताउनुभयो । घरमा काम गर्ने जनशक्ति नभएको र अन्यत्र गएर काम गर्ने समेत सामथ्र्य नभएको बेला यस्ता सहयोग अतुलनीय हुने उनको भनाइ छ । तीस केजी चालम र फाइबरको कम्बल पाएपछि खुसी हुँदै स्थानीवासी हीरा विश्वकर्माले चामल किन्ने पैसा बचत भएको भन्दै उक्त रकमले छोराछोरीको पढाइमा खर्च गर्ने योजना सुनाउनुभयो । गाउँका युवकको कुटाइबाट आफ्नो पति अपाङ्गता भएकाले उपचार गर्दा घरबारी र बस्तुभाउसमेत बिक्री गरिसकेको सुनाउनुहुने शारदा भुजेलले गहबाट आँशु झार्दै सहयोगीलाई धन्यवाद दिनुभयो । केही महिनाका लागि भए पनि खानका लागि समस्या नहुने भन्दै उहाँले न्यानो कम्बलले रात कटाउन सहज हुने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयअन्तर्गतको विपत् व्यवस्थापन समितिले जिल्लामै पहिलो पटक तिङ्लामा न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो ।
सहयोग प्राप्त गरेपछि खुसी हुँदै तिङ्लाका दुर्गाबहादुर बस्नेतले आयोजकलाई धन्यवाद दिँदै चिसो मौसममा रात कटाउन मुस्किल परिरहेका बेला न्यायो कम्बलले परिवारमा समेत खुसी छाउने विश्वास व्यक्त गर्नुभयो । चिसोबाट होस् या विभिन्न विपद्बाट नागरिकलाई सुरक्षित राख्ने कार्यमा राज्य आफ्नो दायित्वबाट पन्छिन नमिल्ने प्रमुख जिल्ला अधिकारी शाहीको भनाइ छ ।
गृहमन्त्रीलेसमेत प्रत्यक्ष फोन सम्पर्क गरी चिसो प्रभावित विपन्न परिवारको लागि जिल्लामा गर्ने काम बारे जानकारी लिनुभएको उहाँको भनाइ छ । तिङ्लाका जस्तै अति विपन्न नागरिकको पहिचान गरी विपद् कोषबाट अन्य क्षेत्रका मानिसलाई सहयोग गर्ने प्रजिअ शाहीको भनाइ छ । अहिले वास्तविक विपन्न नागरिकको पहिचान गर्ने काम भइरहेको शाहीले बताए । सोलुखुम्बु हिमाली जिल्ला भएकाले माथिल्लो क्षेत्रको तापक्रम माइनससम्म हुने र चिसोका कारण विपन्न परिवारको दैनिकी समेत कष्टकर बन्ने कुरालाई मध्यनजर राखेर काम गरिएको उहाँको भनाइ छ ।