जिल्ला अस्पताल दार्चुलामा इमर्जेन्सी बाहेकका सेवा स्थगित

आइतबार, माघ ९, २०७८

दार्चुला, ९ माघ : स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल दार्चुलाले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा स्थगित गरेको छ । 

जिल्ला अस्पताल दार्चुलामा कार्यरत तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट अर्को सूचना जारी नभएसम्मका लागि इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा स्थगित गरिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर आर्दश लिम्बुले जानकारी दिए । 

जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि आइसोलेसन राख्नुपर्ने बिरामीलाई मध्य नजर गर्दै इमर्जेन्सी बाहेकको स्वास्थ्य सेवा स्थगित गरिएको उनले बताए । दुई जना कोरोना संक्रमित बिरामीको जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । 

‘कोरोना संक्रमितको आइसोलेसन र ओपिडी सेवा परिसर नजिकै रहेकाले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गरिएको हो, एक हप्ता सम्म यो अवस्था हुन सक्छ,’ डा लिम्बुले भने । 

पछिल्लो २४ घण्टामा दार्चुलामा १४ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला भरि विभिन्न स्थानमा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका तथ्यांक सहायक खगेन्द्र कार्कीले जानकारी दिए । योसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ७३ पुगेको छ । दार्चुलामा कोरोना सङ्क्रमणको तेस्रो लहर आएयता ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ गतेदेखि बुस्टर डोज दिइने 

दार्चुलामा माघ १२ गतेदेखि कोरोनाको बुस्टर डोज दिइन लागेको छ । आइतबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले दार्चुलामा माघ १२ गते देखी १४ गतेसम्म कोरोनाको बुस्टर डोज दिने निर्णय गरेको छ । 

कोरोना संक्रमणको तेस्रो लहर आएसँगै सरकारले देशैभर माघ २ गतेदेखि बुस्टर डोज अभियान सुरु गरेको थियो । दार्चुलामा खोप ढिलोगरी पुगेपछि १२ गतेदेखि दिइन लागेको हो । 

बुस्टर डोज पाउने पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका, सरसफाईकर्मी, एम्बुलेन्स तथा शबवाहन चालक, सुरक्षाकर्मी, जनप्रतिनिधि, सार्वजनिक सेवामा कार्यरत कर्मचारी, शिक्षक, पत्रकार र ब्यास गाउँपालिकाको वडा नम्बर १ का बासिन्दा रहने कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले निर्णय गरेको छ । 

कोरोनाविरुद्धको खोप हालसम्म नलगाएका, तथा खोपको दोस्रो मात्रा पुरा नगरेका व्यक्तिलाई खोपको उपलब्धताका आधारमा खोप प्रदान गरिने छ । 

बुस्टर खोपका लागि कोभिसिल्ड ६ हजार ६ सय डोज र भेरोसेल ३ हजार ६ सय दार्चुला आइपुगेको स्वास्थ्य कार्यालय दार्चुलाका तथ्याङ्क सहायक खगेन्द्र कार्कीले जानकारी दिए । दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरूमा रहेका अस्पताल तथा स्वास्थ्य चौकीबाट कोरोनाविरुद्धको खोप दिइने छ । 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार