सोसल मिडिया
Contact Us
युनिकोड
क्वालालम्पुर, ८ माघ । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रो पटक अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको उनकी छोरीले शनिबार जानकारी दिएकी छन् । पूर्वप्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय प्रतिष्ठानमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको छोरी मरिना महाथिरले बताइन् । उनी ९६ वर्षको छन् । महाथिरलाई पुनः अस्पताल भर्ना गरिएको खबर फैलिएपछि पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी लिन अस्पतालमा सञ्चारकर्मीको भीड देखिएको छ । मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोब अस्पताल पुगी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । करिब पचहत्तर दिनअघि सोही अस्पतालमा उपचार गराई घर फर्किएका महाथिरको नियमित उपचारका लागि भर्ना गरी करिब दुई साता अघि घर लगिएको थियो । छोरी मरिनाले भनिन्, “उहाँको उपचारमा सम्लग्न चिकित्सकहरूले उपचारपछि बुवाको शरीरमा सुधारको सकारात्मक सङ्केत देखिएको बताएका छन् । अहिले उहाँको अवस्था स्थिर रहेको छ ।” पूर्वप्रधानमन्त्री महाथिरको परिवारले शुभेच्छुकहरूलाई उनको स्वास्थ्यमा पूर्ण सुधारका लागि प्रार्थना गर्न आग्रह गरेको छ । महाथिरले डिसेम्बर २०२१ मा स्वास्थ्य परीक्षणका लागि केही दिन अस्पतालमा विताएका थिए । पछिल्ला वर्षहरूमा उनलाई मुटुसम्बन्धी धेरै समस्या देखिएका छन् । यसका कारण उनलाई पटकपटक हृदयघात भएको र अहिले उनको बाईपास सर्जरी भइरहेको छ । महाथिर मलेसियाका लोकप्रिय राजनीतिक व्यक्तित्वमध्ये एक हुन् । उनले मलेसियाको सुधारका लागि महत्वपूर्ण योगदान गरेका थिए । दुई पटक गरी २४ बर्षसम्म प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । उनले सन् १९८१ देखि २००३ सम्म मलेसियालाई नेतृत्व दिएका थिए । मलेसियामा भ्रष्टाचारले व्यापक जरा गाडेको समय उनलाई पछि सन् २०१८ मा ९२ वर्षको उमेरमा राष्ट्रवादी गठबन्धन समूहले पुनः प्रधानमन्त्री बनाएको थियो । तर सत्ता सङ्घर्षका कारण उनको गठबन्धन सरकार सन् २०२० मा भङ्ग भएको थियो । उनलाई मलेसियाको सुधारका लागि राष्ट्रनायकका रूपमा हेर्ने गरिन्छ ।– रासस/एएफपी