रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज

शनिबार, फागुन ८, २०७७

मस्को । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिललाई रूसको एक अदालतले शनिबार खारेज गरिदिएको छ । नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लंघन गरेको आरोप लागेको छ । नाभाल्नी रूसी नेता भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । उनीमाथि पुटिन सरकारले राजनीतिक प्रतिशोधका कारण पटक पटक दुःख दिने गरेको नाभाल्नी पक्षधर समूहको दावी रहेको छ । घातक विष खुवाइएपछि बिरामी परेका नाभाल्नी जर्मनीमा उपचार गराई करिब पाँच महिनापछि गत महिना रूस फर्किएका थिए । रुस फर्के लगत्तै नाभाल्नीलाई पक्राउ गरिएको थियो । उनले यस आक्रमणको लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको आरोप लगाउँदै आफूमाथि लगाइएको आरोपहरू बनावटी भएको बताउँदै आएका छन् । रूसी राष्ट्रपति पुटिनले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । नाभाल्नीको रिहाइका लागि यूरोपियन मानव अधिकार अदालत (ईसीएचआर) ले दबाव दिइरहेको समयमा रुसको अदालतले नभाल्नीको अपिललाई खारेज गरेको हो । रुसले ईसीएचआरको मागको खण्डन गर्दै आफ्नो देशको मामिलामा गैरकानुनी हस्तक्षेप अस्वीकार्य भएको टिप्पणी गरेको छ । नाभाल्नीका समर्थकहरूले उनीमाथि लागेको आरोपलाई राजनीतिक महत्वाकांक्षालाई विफल पार्ने प्रयासको रूपमा रहेको बताउँदै आएका छन् ।– एएफपी

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  २१:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार