सोसल मिडिया
Contact Us
युनिकोड
फ्रान्स । जमिन नजिकैबाट उडेका फ्रान्सेली सेनाका दुई विमान तारसँग ठोक्किँदा दक्षिण फ्रान्सको एक गाउँमा विद्युत् काटिएको छ । घटना बुधवार अपराह्न म्यानोस्क नजिकै ला क्यास्टले गाउँमा भएको हो । जमिनको सतह नजिकै तालिमका लागि उडेका दुई रफाल विमानले तार काटेको ‘दुर्लभ घटना’बारे अनुसन्धान सुरु गरिएको छ । ‘यो यति तल आएको थियो कि यसले निकै ठूलो आवाज निकालेको थियो । मैले माथि हेरेँ र दोस्रो विमान देखेँ’, गाउँका मेयरले स्थानीय पत्रिकालाई बताएका छन् । ‘विमान यति तलबाट उडेको थियो कि मैले आफैँलाई भनेँ, यो विद्युत्को तारभन्दा तल जाँदैछ’ गाडी चलाइरहँदा विमान देखेका बेनोइट् ग्वाङ्गले बताए । अलि पर पुग्दा उनले तार जमिनमा झरेको देखे । ‘दुईमध्ये एक विमान तारमा ठोक्कियो र तार चुँडायो । मैले तत्काल आपतकालीन सेवा र विद्युत् सेवा दिने कम्पनीलाई फोन गरेँ’, उनले भने । तार झरेपछि लागेको आगो तत्कालै नियन्त्रण गरिएको अर्को एउटा स्थानीय पत्रिकाले जनाएको छ । उक्त गाउँमा केही घण्टा विद्युत् बन्द भयो । सुरक्षाका कारण देखाउँदै केही समय सडकसमेत अवरुद्ध पारिएको थियो । ‘कोही पनि घाइते भएनन् । घटनाले विमानचालकलाई सुरक्षित रूपमा विमान अवतरण गराउन बाध्य पा¥यो’, फ्रान्सेली एअर फोर्सका प्रवक्ताले ला प्रोभेन्स पत्रिकालाई भने ।–बीबीसी