सोसल मिडिया
Contact Us
युनिकोड
लाहोर (पाकिस्तान), ६ माघ । पाकिस्तानको लाहोरस्थित एउटा व्यस्त व्यापारिक भवनमा बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका पाकिस्तानी प्रहरी र अन्य सरकारी अधिकारीहरूले बताएका छन् । लाहोर प्रहरीका प्रवक्ता राना आरिफले एएफपीसँग भन्नुभयो, “प्रारम्भिक अनुसन्धानबाट यो विष्फोट मोटरसाइकलमा जडित विष्फोटक पदार्थ (टाइम बम) भएको बुभिएको छ ।” पुरानो लाहोरको व्यस्त अनारकली सपिङ क्षेत्रमा भएको विष्फोटमा एक बालकसहित दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीले पनि घटनामा दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको पुष्टि गरेको छ । आक्रमणको तत्काल कुनै समूहले जिम्मेवारी लिइसकेको छैन । तर डिसेम्बरदेखि प्रहरीविरुद्ध एकपछि अर्को विष्फोट र आक्रमण भएको छ । सरकार र पाकिस्तानका तालिबानबीच भएको झडप मारमा परेको थियो । यसअघि अफगान तालिबानसँग निकट रहेको तेह्रेक–ए–तालिबान पाकिस्तान (टीटीपी) उक्त क्षेत्रमा हुने अधिकांश घटनाहरूमा जिम्मेवार रहने गरेको भन्दै सरकारी अधिकारीले यस घटनालाई पनि सोही समूहसँग जोडेर हेरेका छन् ।
लाइबेरियामा प्रार्थनास्थलमा भागदौड हुँदा २९ जनाको मृत्यु लाइबेरियाको राजधानी मोन्रोभियामा भएको क्रिश्चियन प्रार्थना जमघटमा भएको झडपमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौँ मानिस सख्त घाइते भएकोले मृतक सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । पश्चिम अफ्रिकी मुलुकका सञ्चारमाध्यमका अनुसार आक्रमण स्थानीय समयअनुसार बिहीबार बिहानै भएको थियो । प्रहरी प्रवक्ता मोसेस कार्टरले एएफपीसँग भने, 'घटनामा २९ जनाको मृत्यु भएको छ भने भागदौडका क्रममा धेरै मानिसहरूको अवस्था गम्भीर भएकाले मृतक सङ्ख्या थप ‘बढ्न सक्ने’ देखिएको छ ।” मृत्यु हुनेमा केही बालबालिकासमेत रहेका उहाँले बताउनुभयो । घटना कसरी सुरू भयो विस्तृत विवरण प्राप्त हुन बाँकी छ । मोन्रोभियाको मजदुर वर्ग बसोबास गर्ने ‘न्यू क्रू टाउन’ नजिकैको फुटबल ग्राउण्डमा लाइबेरियामा ‘क्रुसेड’ भनेर चिनिने इसाईहरूको प्रार्थनाका लागि जमघट भएको समयमा भागदौड मच्चिँदा ठूलो मानवीय क्षति भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यस्ता जमघटहरू सामान्यतया लाइबेरियामा हजारौँ मानिसहरू भेला हुन्छन् । अधिकांश इसाई धर्मावलम्बी रहेको लाइबेरियामा धर्मलाई विशेष महत्व दिने गरिन्छ । एक लोकप्रिय धर्मगुरू पास्चर अब्राहम क्रोमाको उपस्थितिमा न्यू क्रू टाउनमा दुई दिने प्रार्थना कार्यक्रमको आयोजना भएको र कार्यक्रममा ठूलो भीड भेला भएको सामाजिक सञ्जालहरूबाट सार्वजनिक तस्बिरहरूमा देखिएको छ । चक्कु तथा छुरी प्रयोग गर्ने डाँकूहरूले उपासकहरूलाई आक्रमण गरी तर्साएपछि भाडदौड मच्चिएको स्थानीय सञ्चारमाध्यमले कार्यक्रमका सहभागीलाई उद्धृत गरी समाचार सम्प्रेषण गरेका छन् । २६ वर्षीय प्रत्यक्षदर्शी इमान्यूयल ग्रेले एएफपीसँग आफूले घटनाको अन्ततिर ‘ठूलो आवाज’ सुनेको र धेरै मृत शरीर देखेको बताए । लाइबेरियामा मानव सिर्जित हिंसा, दुर्घटना र प्राकृतिक प्रकोप तुलनात्मक रूपमा बढी हुने गर्दछन् । स्थानीय सञ्चारमाध्यमका अनुसार लाइबेरियाको मध्यभागमा आयोजित यस्तै प्रार्थना सभामा नोभेम्बर २०२१ मा भएको भागदौडमा दुई नाबालकको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । गत वर्षको जुलाईमा लाइबेरियाको तटीय क्षेत्रमा पानी जहाज दुर्घटनापछि १७ जना बेपत्ता भएका थिए । सन् २०२० को मे महिनामा उत्तरपश्चिमी लाइबेरियाली खानी विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको थियो । अफ्रिकाको सबैभन्दा पुरानो गणतन्त्र लाइबेरिया एउटा गरिब देश हो जहाँ सन् १९८९–२००३ सम्म भएको गृहयुद्धमा करिब दुई लाख ५० हजार मानिसको मृत्यु भएको थियो । सन् २०१४–२०१६ को पश्चिम अफ्रिका इबोला महामारीले पनि देशलाई तहसनहस पारेको थियो । विश्व बैंकका अनुसार लाइबेरियाको ४४ प्रतिशत जनसङ्ख्याले सरदर प्रतिदिन १.९ अमेरिकी डलरभन्दा कम आय रहेको संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्कले देखाएको छ ।–रासस/एएफपी