अमेरिकी प्रतिबन्ध फुकुवा गर्न इरानको आग्रह

शुक्रबार, फागुन ७, २०७७

तेहरान । इरानले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध लगाएका सबै किसिमका प्रतिबन्धहरु फुकुवा गर्न नयाँ अमेरिकी प्रशासन समक्ष पुनः आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले इरानको आणविक समस्यालाई लिएर वार्ता गर्न इच्छा व्यक्त गरेलगत्तै इरानले उक्त धारणा सार्वजनिक गरेको हो । इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफले ट्वीट गर्दै पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध लगाएका सबै किसिमका प्रतिबन्धहरु विनाशर्त र प्रभावकारी रुपबाट तत्कालै फिर्ता लिन आग्रह गरेका हुन् । बिहीबार युरोपेली गठबन्धनका मुलुकहरुको अगुवाईमा बाइडन प्रशासनले इरानसँग वार्ता गर्न इच्छुक रहेको जनाएको थियो । इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई बचाउन पनि अमेरिका र युरोपेली मुलुकहरु एक ठाउँमा उभिन लागेका हुन् । इरानले आणविक सम्झौता कायम राख्न आइतबारसम्मको समयावधि तोकेको थियो । इरानको परिस्थिति निकै नाजूक बनिसकेको जनाउँदै अझै युरोपेली मुलुकको मात्र कुरा सुनेर धैर्य गर्न नसकिने इरानको भनाई थियो ।

अमेरिकी नयाँ विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरानलाई आइतबारकै समयसीमा नतोक्न आग्रह गरेका छन् । फ्रान्स, बेलायत र जर्मनीका विदेश मन्त्रीसँगको भिडियो कन्फेरन्स सम्पन्न भएको केही घण्टापछि युरोपेली युनियनका राजनीतिक निर्देशक एन्रिक मोराले ट्वीट गर्दै इरान र अमेरिका सम्मिलित अनौपचारिक बैठक गर्न सहमति जुटेको जानकारी दिएका थिए । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले इरानी आणविक कार्यक्रमका बारेमा कुटनीतिक पहलका लागि इरान र आणविक सम्झौताका पक्ष राष्ट्रहरुबीच छलफल गर्न गरिएको निमन्त्रणालाई अमेरिकाले स्वीकार गरेको बताएका छन् ।  इरानको सन् २०१५ को आणविक सम्झौतामा राष्ट्रसंघको स्थायी समितिका सदस्यहरु बेलायत, चीन, फ्रान्स, रसिया र अमेरिका तथा जर्मनीले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको अग्रसरतामा भएको थियो । सम्झौतापछि इरानले आफ्नो आणविक कार्यक्रमलाई व्यापक कटौती गरेको थियो जसको बदलामा इरानमाथि लागेका आर्थिक नाकाबन्दीहरु फुकुवा गरिएको थियो । तर आणविक सम्झौताप्रति विमति राख्दै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा उक्त सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरी इरानविरुद्ध कडा प्रतिबन्धहरु लगाएका थिए । – एएफपी

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  २०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार