जिहादी समूहको आक्रमणमा सोमालियाली सरकारका प्रवक्ता घाइते 

सोमबार, माघ ३, २०७८

मोगादिशु, २ माघ : अल–शाबाब जिहादी समूहको आक्रमणमा परी आइतबार एक सोमालियाली सरकारका प्रवक्ता घाइते भएको यहाँको प्रहरीले बताएको छ । यद्यपि उहाँलाई ठूलो चोट भने नलागेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सोमालियाली सङ्घीय सरकारका प्रवक्ता आतङ्कवादी आक्रमणमा घाइते हुनुभएको छ, उहाँको चोट गम्भीर छैन । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।” 
केही प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले बताएअनुसार आक्रमणकारीले विस्फोटक पदार्थ विस्फोट गर्नुअघि प्रवक्ताको कारमा चढेर आंशिक रूपमा गाडी नष्ट गर्ने प्रयास गरेका थिए ।
आक्रमणको घटनास्थलका एक प्रहरी मोहमद फराहले भन्नुभयो, “एक आत्मघाती आक्रमणकारी मोहमद इब्राहिमका प्रवक्तालाई बोकेको गाडीमाथि जाइलाग्यो । अनि केही समयमा विस्फोट भयो । प्रवक्तालाई हल्का चोट लागे पनि भाग्यबस ज्यान जोगिएको छ ।” 
घटनामा अन्य दुई जना घाइते भएका बताइएको छ । आक्रमणको अल–शबाब समूहले जिम्मेवारी लिएको छ ।
मोहमद इब्राहिम मोलिमु एक वर्षभन्दा बढी समयदेखि प्रधानमन्त्रीका प्रवक्ता र सल्लाहकार रहनुभएको छ । यसअघि बीबीसीका समेत संवाददाता रहेका उहाँले सोमालियाली पत्रकार सङ्घको पूर्वमहासचिवका रूपमासमेत काम गर्नुभएको छ ।– रासस/एएफपी
 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ०६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार