सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबार पश्चिम मूलढोका गइ त्यहाँ अवस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिकमा पुष्पहार अर्पण गरेकी छन् । ३००औँ पृथ्वीजन्मयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल एकीकरणका नायकप्रति पुष्पहार अर्पण गरेर सम्मान प्रकट गरेका हुन् । सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले तथा आयोजक चारवटै संस्थाका तर्फबाट पनि राष्ट्रनिर्माताका सालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री कमल थापाले पनि राष्ट्रनिर्माताका सालिकमा माल्यार्पण गरेका थिए । कार्यक्रममा उपस्थित राष्ट्रसेवकलगायत सर्वसाधारणले पनि राष्ट्रनिर्माताको सालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए । यसअघि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट सांस्कृतिक झाँकीसहित शोभायात्रा राजधानीको विभिन्न भाग परिक्रमा गरी सिंहदरबारको पश्चिम मूलढोकामा आइपुगेको थियो । शोभायात्राले राष्ट्रनिर्माताको सालिकमा पनि परिक्रमा गरेको थियो । विसं १७९९ चैत २५ गते राजा बनेका पृथ्वीनारायण शाहले ५२ राज्यमा विभक्त राज्यलाई एकीकरण गर्नुभएको थियो । विसं १८२६ मा काठमाडौँ उपत्यकाका तीन वटै राज्य विजयी गरी यहीँ राजधानी स्थापना गरेका थिए ।
सेनाद्वारा जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी र सम्मान अर्पण नेपाली सेनाले ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा पुष्पहार अर्पण गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित संस्थापक प्रथम सेनापति राष्ट्रनिर्माताको सालिकमा कायम मुकायम प्रधानसेनापति बालकृष्ण कार्कीले माल्यार्पण र पुष्पहार अर्पण गरी सलामी र सम्मान सम्मान प्रकट गरे । उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि उनीप्रति पुष्पगुच्छा अर्पण गरे । विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । आफ्ना भारदारलाई एकीकरण अभियानमा उठाउनुपरेको कष्ट, सफल बनाउन लिएका नीति तथा राज्यलाई जोगाउन सन्ततिले ध्यान दिनुपर्ने विषयवस्तुका विषयमा उनले दिएको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ । दिव्योपदेशमा गृहनीति, परराष्ट्रनीति, अर्थनीति, खेतीयोग्य जमिनको रक्षा, खानी, लडाकु सैनिक र सशस्त्र सङ्ग्रह गरी देशको रक्षा गर्ने विषयवस्तु समेटिएका छन् । राष्ट्र निर्माताको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने क्रममा सेनाले यस वर्ष दिव्योपदेश प्रवचन, नालापानी चलचित्र प्रदर्शनी तथा कविता, हाजिरी जवाफ, चित्रकला र लेख÷रचना प्रतियोगिता आयोजना ग¥यो । सेनाले नेपाल राष्ट्र एकीकरणका सन्दर्भमा प्रयोग भएको मार्गमा गोरखाबाट काठमाडौँसम्म ‘एकीकरण पदयात्रा’सहितको टर्च सैनिक मुख्यालयमा पु¥याएर विसर्जन गरियो ।सेना, स्थानीय जनता र विद्यार्थी सामेल पदयात्रा पुस २० गते गोरखाबाट सुरु भएको पदयात्रा धादिङ, नुवाकोट, नागार्जुन हँुदै सोमबार हनुमानढोका आइपुगेको थियो ।प्रत्येक वर्ष पुस २७ गते मुलुकभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष रुपमा साथ मनाइँदै आएको छ ।–रासस