युगाण्डामा दुई वर्षपछि विद्यालय खुले

सोमबार, पुस २६, २०७८

काम्पाला, २६ पुस । युगाण्डामा सोमबारदेखि विद्यार्थीहरूले विद्यालयमै उपस्थित भएर अध्ययन गर्न थालेका छन् । विश्वमै सबैभन्दा लामो समयसम्म विद्यालय बन्द भएर सोमबारदेखि भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो ।   
युगाण्डामा कोरोनाभाइरसको महामारीका कारण झन्डै दुई वर्ष विद्यालय बन्द भएकोमा सोमबारदेखि खुल्ला भएको अधिकारीहरूले जनाएका छन् । युगाण्डामा सन् २०२० को मार्चदेखि ८३ हप्तासम्म विद्यालय बन्द भएको हो ।  
विद्यालय खुल्ला भएपछि दशौँ लाख विद्यार्थीहरू खुशी भएर विद्यालय फर्किएका छन् । “विद्यालयमै उपस्थित भएर पढ्न पाउँदा मलाई धेरै खुशी लागेको छ, विगतमा विद्यालय बन्द हुँदा मैले विद्यालयमा उपस्थित भएर पढ्न पाएको थिएन भने मेरा साथी, शिक्षकशिक्षिका र मेरो पढाइ गुमाएको थिएँ,” १० वर्षीय विद्यार्थी नाविलाह सेन्कुगौले भने । 
विद्यालयमा उपस्थित भएका विद्यार्थी तथा शिक्षकशिक्षिकाले मुखमा मास्क लगाउनुका साथै पटकपटक हात धोएका थिए । 
विश्वका धेरै देशमा कोरोनाभाइरसको महामारी फेरि फैलिन थालेका बेला युगाण्डामा विद्यालय खुलेका हुन् । 
युगाण्डामा अहिलेसम्म एक लाख ५३ हजार ७६२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने तीन हजार ३३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।– रासस/एएफपी
 

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  २१:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार