सोसल मिडिया
Contact Us
युनिकोड
चितवन, २६ पुस । देवघाटमा लाग्ने माघे सङ्क्रान्तिसहितका जिल्लामा सञ्चालन भइरहेका र हुने तयारीमा रहेका मेला महोत्सव बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समिति (सीसीएमसी) सहितको सर्वपक्षीय बैठकले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो । बैठकले भौतिकरूपमा २५ जनाभन्दा बढी उपस्थित भई हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव गर्न रोक लगाउने निर्णय गरेको हो । साथै सञ्चालन भइरहेको चितवन महोत्सवको हकमा पुस २९ गते पूर्णरूपमा बन्द गर्ने गरी दुई दिन व्यवस्थापनका लागि समय उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मङ्गलबारदेखि सुरु हुन लागेको रत्ननगर महोत्सवको हकमा केही दिन स्थगित गरेर अवस्था हेर्नका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउने बताएका थिए । यसै महिना खैरहनीमा हुन लागेको खिचरा महोत्सवसँगै अन्य महोत्सव पनि पूर्ण बन्द गर्ने बैठकले निर्णय गरेको छ । देवघाटमा हुने माघे सङ्क्रान्ति मेलामा देशैभरबाट भक्तजन आउने गर्दछन् । सङ्क्रान्तिको अघिल्लो दिन त्रिशूली र कालीगण्डकी दुई नदीको सङ्गममा लिङ्गो गाडेर मेला शुभारम्भ गरिन्छ । प्रमुख जिल्ला अधिकारी तामाङले तनहुँ र नवलपरासी जिल्लासँग समन्वय गरेर मेला पूर्णरूपमा बन्द गराइने बताए । बैठकले खोपलाई अभियानकै रूपमा अगाडि बढाउने, सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको छ । सरकारी कार्यालयले जनस्वास्थ्यको मापदण्ड अनिवार्यरूपमा पालना गर्ने सुनिश्चित गरी भीडभाड नहुने गरी सेवा प्रवाह गर्ने निर्णय बैठकले गरेको छ । सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी क्षमताका यात्रु नराख्न, यात्रु, चालक र सहचालकले अनिवार्यरूपमा मास्क लगाउन, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्न र दैनिक सवारीलाई निःसङ्क्रमण गर्न बैठकले निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित अत्तरिया उद्योग वाणिज्य सङ्घले यही पुस २७ गतेदेखि माघ ९ गतेसम्म कैलालीको अत्तरियामा आयोजना गर्न लागेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ स्थगित गरिएको छ । उद्योग वाणिज्य सङ्घले आज विज्ञप्ति जारी गर्दै कोरोनाको सङ्क्रमण बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जनाएको छ । कोभिड–१९ तीव्र रुपमा फैलिन गएकाले महोत्सव स्थगित गरिएको सङ्घका अध्यक्ष अशोकराज देवकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस् भनेर स्थगित गरिएको उनको भनाइ छ ।
पोखरा महोत्सव स्थगित
युनाइटेड क्लब पोखराको आयोजनामा आगामी पुस २८ गतेदेखि माघ ९ गतेसम्म आयोजना हुने ११औँ संस्करणको पोखरा महोत्सव स्थगित गरिएको छ । नेपाल सरकारको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णयलाई पूर्णरुपमा पालना गर्दै ११औँ संस्करणको पोखरा महोत्सव अर्को सूचना नआइन्जेलका लागि स्थगित गरिएको हो । क्लबका अध्यक्ष राजु श्रेष्ठद्वारा आज प्रकाशित प्रेस विज्ञप्तिअनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने क्लबको उद्देश्यअनुरूप जनस्वास्थ्यप्रति उत्तरदायित्व वहन गर्नु सबैको कर्तव्य भएकाले महोत्सव स्थगित गरिएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “महोत्सव सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजक, उपप्रायोजक, प्रायोजक, सहयोगी संस्था, मिडिया, प्रवद्र्धक, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिकालगायत सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै समय अनुकूल भएपछि पुन महोत्सव सञ्चालन हुनेछ ।”