सोसल मिडिया
Contact Us
युनिकोड
पेरिस । युरोपेली मुलुक र संयुक्तराज्य अमेरिकाका वरिष्ट कुटनीतिज्ञ इरान मामिलाका विषयमा छलफल गर्न सहमत भएका छन् । यो छलफल खासगरी इरानसँग भएको सन् २०१५ को आणविक सम्झौताका विषयमा केन्द्रित हुनेछ ।फ्रान्सेली विदेशमन्त्री जाँ–येभ्स लि ड्रायनले जर्मन र बेलायती समकक्षीसँग पेरिसमा भेट्दै छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भिडियो कन्फरेन्सबाट सहभागिता जनाउने छन् । जर्मन चान्सलर एन्गेला मर्केलले इरानी राष्ट्रपति हस्सन रुहानीसँग टेलिफोनमा कुरा गरी इरानले आफ्ना प्रतिबद्धता पूरा गर्नेतर्फ विशेष चासो राखेको मर्केलका प्रवक्ताले बताएका छन् । विज्ञले पश्चिमा मुलुक र इरानबीच सन् २०१५ मा सम्पन्न आणविक सम्झौतालाई बचाउन निकै कठिन रहेको बताएका छन् । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौता बमोजिम इरान प्रतिवद्ध नरहेको आरोप लगाउँदै उक्त सम्झौताबाट अमेरिका सन् २०१८ मा बाहिरिएको घोषणा गरेका थिए । राष्ट्रपति जो बाइडेन प्रशानसले उक्त आणविक सम्झौतामा पुनःप्रवेश गर्नेगरी तयारी गरेको जनाएको छ । तर इरानले आणविक कार्यक्रम स्थगित गरेमा इरानमाथि लागेका प्रतिबन्ध अमेरिकाले फुकुवा गर्ने पनि बताएको छ । आगामी फेब्रुअरी २१ भित्र अमेरिकाले प्रतिबन्ध फुकुवा नगरे संयुक्त राष्ट्रसङ्घीय अनुगमनकर्तालाई इरानी आणविक कार्यक्रमको निरीक्षण गर्न नदिइने धम्की दिएको छ । अन्तरराष्ट्रिय आणविक ऊर्जा सङ्घ आइएइएका प्रमुख राफेल ग्रस्सी आणविक केन्द्रको निरीक्षणलाई निरन्तरता दिने उद्देश्यले इरानी अधिकारीसँग वार्ताका लागि शनिबार तेहरान जाने भएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले इरानले आइएइएलाई पूर्णसहयोग गर्नुपर्ने बताएका छन् ।–एएफपी