सोसल मिडिया
Contact Us
युनिकोड
नोम पेन, २४ पुस । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले म्यानमारको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । दक्षिण पूर्वी एसियाली राष्ट्र सङ्घका अध्यक्षसमेत रहेका हुन सेनले म्यानमारको दुई दिने भ्रमण गरेर शनिवार स्वदेश फर्किएका हुन् । कम्बोडियाका विदेशमन्त्री प्राक सोखोनले दिएको जानकारीअनुसार म्यानमार भ्रमणका क्रममा प्रधानमन्त्री हुन सेनले म्यानमारका उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा उनीहरुले दुई पक्षीय हित, आपसी चासो, क्षेत्रीय सरोकारका विषयमा छलफल गरेका थिए । झण्डै तीस वर्षदेखि एकछत्र शासन गर्दै आउनुभएका हुन सेनले सैन्य शासन लागू भएको म्यानमारको भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि विदेशी नेताको यो नै पहिलो भ्रमण हो । म्यानमारको सेनाले गत फेब्रुअरी १ मा देशका शीर्ष नेता तथा उच्च अधिकारीहरुलाई बन्धक बनाउँदै सत्ता नियन्त्रणमा लिएको थियो । पूर्वसैन्य कमाण्डर हुन सेनले सन् १९८५ देखि कम्बोडियामा शासन गर्दै आएका छन् । उनी विश्वमै सबैभन्दा लामो समय शासन गर्ने नेतामा पर्छन् । अन्य धेरै देशहरुले सहयोग र सहकार्य बन्द गरेको म्यानमारसँग कम्बोडियाका प्रधानमन्त्री हुन सेनले भने सहकार्य बढाएका छन् । जुन्ता सरकारसँग सँगसँगै काम गर्ने योजनाका साथ उनले भ्रमण गरेका हुन् । संसार भरीबाट सैन्य शासनको विरोध भइरहेको बेला त्यही देशको भ्रमण गर्ने र त्यही शासकसँग सहकार्य गर्ने हुन सेनको योजनालाई कूटनीतिक क्षेत्रमा चासोका साथ हेरिएको छ ।– रासस/एएफपी