सोसल मिडिया
Contact Us
युनिकोड
नेपिदअ । म्यान्मामा सैन्य शासनको विरोध गर्न प्रदर्शनकारीहरूले याङ्गुनको सडकमा गाडी तेस्र्याएर अवरोध गरेका छन् । याङ्गुनमा आज दशौं हजार मानिसहरू भेला भएर प्रदर्शन गरे ।माघ १९ मा सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि आयोजित प्रदर्शनमध्ये यसलाई सबैभन्दा ठूलो मानिएको छ । प्रदर्शनकारीहरूले नेत्री आङ सान सू चीसहित सबै नेताहरूलाई मुक्त गर्न माग गरेका छन् । आजको प्रदर्शनले याङ्गुनको ट्राफिक व्यवस्था प्रभावित भएको छ । मंगलबार सेनाले सू चीलाई अदालतसमक्ष पेस गर्दा दोस्रो अभियोग पनि लगाएको थियो । सेनाले म्यान्मारमा फेरि निर्वाचन गराउने बताएको छ ।
अहिले के हुँदैछ ? म्यान्मामा सेनाको नियन्त्रणमा भएकी नेत्र आङ सान सू चीविरुद्ध दोस्रो आपराधिक अभियोग लगाइएको छ । उनलाई मंगलबार भिडिओमार्फत सैन्य सरकारले अदालतसमक्ष पेस गरेको थियो । यसअघि उनीलाई अवैधानिक रूपमा सञ्चार उपकरण वाकीटकी राखेको अभियोग लगाइएकोमा अहिले प्राकृतिक प्रकोपसम्बन्धी कानुन उल्लंघन गरेको अभियोग थपिएको छ । तर उक्त अभियोग किन लगाइएको भन्ने स्पष्ट छैन । माघ १९ मा सेनाले देशको शासनसत्ता हातमा लिएपछि अहिले म्यान्मामा विरोधप्रदर्शन भइरहेको छ । सेनाले नयाँ निर्वाचन गराउने र सत्ता हस्तान्तरण गर्ने बताएको भए पनि प्रदर्शनकारीहरूले सू चीसहित सबै नेताहरूलाई तत्काल मुक्त गर्नुपर्ने र भर्खरै सम्पन्न निर्वाचनको परिणाम स्वीकार्नुपर्ने बताउँदै आएका छन् । सेनाले उक्त निर्वाचनमा धाँधली भएको दाबी गर्ने गरेको छ ।-बीबीसी