सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १९ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिनुभयो । उक्त निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने छन् । आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ । आगामी फागुन २० गते नेकपा ९एमाले०का आठ, नेकपा ९एकीकृत समाजवादी०का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । उक्त निर्वाचनमा नौ राजनीतक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिनेछन् । आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिनेछन् । लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश नं दुई र सुदूर पश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले वाग्मती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश नं २ मा मात्र भाग लिने जानकारी दिइएको छ । निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहनेछन् । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येकको दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्ष भए पनि पहिलोपटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । निर्वाचन चिह्न प्रदान भएसँगै निर्वाचन आचारसंहिता सबैका लागि लागू गराउने आयोगले योजना बनाएको छ ।
माओवादी उम्मेदवार छनोटको जिम्मा अध्यक्ष दाहाललाई नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाको उम्मेदवार छनोटका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अधिकार दिएको छ । महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको हो । आइतबार सम्पन्न आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुबीच राष्ट्रिय सभा सदस्यको उम्मेदवारीका विषयमा छलफल भएको थियो । सत्तारूढ गठबन्धनको आज बसेको बैठकले उम्मेदवारको विषयमा समेत टुङ्गो लगाएका थियो । गठबन्धनको निर्णय अनुसार माओवादीले पाँच सदस्यमा उम्मेदवारी दिनेछ । मङ्गलबार उम्मेदवारको मनोनयनको कार्यक्रम छ । यसैबीच माओवादी केन्द्रको पदाधिकारी छनोटको प्रक्रिया केही दिनका लागि स्थगित भएको छ । केन्द्रीय समितिको बैठक यही पुस २५ गतेसम्मका लागि स्थगित भएकाले पदाधिकारी छनोटको प्रक्रिया केही दिन पर सरेको हो । सबै पक्षसँग छलफल गरेर सहमतिका आधारमा पदाधिकारी छनोट गरिने अध्यक्ष दाहालले बताए । केन्द्रीय समितिका सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले २५ गतेको बैठकपछि पदाधिकारी टुङ्गो लाग्ने जानकारी दिए । माओवादीमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको विधानमा व्यवस्था गरिएको छ । केन्द्रीय समिति २९९ सदस्यीय रहने व्यवस्था छ । पद तथा गोपनीयताको शपथलगायतका प्रक्रिया पूरा गरेर आजको बैठक स्थगित भएको हो ।
एकीकृत समाजवादीद्वारा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । प्रदेश नं १ बाट जयन्ती राई, वाग्मती प्रदेशबाट गोमा तिमिल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णालीबाट उदय बोहरा र सुदूरपश्चिमबाट मदनकुमारी शाह (गरिमा) लाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका पोलिटब्यूरो सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन्। सत्तापक्षीय गठबन्धनको आज बालुवाटारमा बसेको बैठकले सिट सङ्ख्याको टुङ्गो लगाएको थियो । यसअघि नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि उम्मेदवारी दिने विषयमा सहमति भएको थियो ।