सोसल मिडिया
Contact Us
युनिकोड
केपटाउन, १८ पुस । दक्षिण अफ्रिको संसद् भवनमा भएको आगलागीको घटनाको छानबिन सुरु भएको छ । देशको सबैभन्दा पुरानो र दोस्रो ठूलो सहर केपटाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आइतबार आगलागी भएको थियो । अग्निनियन्त्रक, स्वयम्सेवक, सुरक्षाकर्मीलगायतले भवनमा लागेको आगो नियन्त्रणमा लिएपछि अहिले छानबिन सुरु भएको हो । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आइतबारदेखि नै घटनाका बारेमा छानबिन सुरु भइसकेको जानकारी दिए । छानबिनका लागि सरोकारवाला उच्च अधिकारीहरूसहितको टोली परिचालन गरिसकिएको पत्रकारहरूलाई बताए । उनले घटनाका बारेमा गम्भीर तरिकाले छानबिन गरी दोषी पत्ता लगाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । संसद् भवनमा भएको आगलागीका बारेमा केही व्यक्तिमाथि प्रश्न उठेको र त्यसको उचित उत्तर खोजिने उनको भनाइ थियो । “हामीले घटनाका बारेमा यथार्थ थाहा पाउन गहिरो छानबिन गर्न आवश्यक छ, साथै आगामी दिनमा यस्ता घटना नहुनका लागि पनि दोषीलाई कारबाही हुनुपर्दछ,” उनले भने । आगलागीबाट क्षतिग्रस्त संसद् भवन अगाडि पत्रकारहरूसँग कुराकानी गर्दै उनले संसद्को सभा हलबाट आगलागी सुरु भएको पाइएको जानकारी दिए । स्थानीय समयअनुसार बिहान ५.०३ मा आगलागी सुरु भएको प्रारम्भिक विवरणबाट पत्ता लागेको उनले जानकारी दिए । आगलागीका कारण अहिलेसम्म यकिन हुन नसकेको पनि उनले जानकारी दिएका छन् ।– रासस/एएफपी