सोसल मिडिया
Contact Us
युनिकोड
रुकुमपूर्व, १८ पुस । रुकुमपूर्वमा १४ मजदुर विगत पाँच दिनदेखि हिउँमा फसेका छन् । ती मजदुर बसेको स्थान पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माको घुसदुङमा यही पुस १३ र १४ गते बाक्लो हिउँ परेको र त्यहाँबाट उनीहरू बाहिर आउन नसकेका हुन् । वडा नम्बर २ ले बजेट विनियोजन गरेपछि घोरेटो बाटो निर्माणका लागि योजना परेको थियो । सोही घोरेटो बाटो निर्माणमा खटिएका उनीहरू बाक्लो हिउँका कारण बाहिर आउन सकेका छैनन् । वडा सदस्य मनराम झाँक्रीका अनुसार उनीहरू काम गर्ने ठाउँमै फसेको भनेर आइतबार मात्रै खबर आएको थियो । उनीहरूमध्ये १० पुरुष र चार महिला छन् । जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन पाँच दिनदेखि ओढारमा बसिरहनुभएको छ । खाने रासन पनि सकिएकाले समस्या भएको बताइएको छ । सबै जना पेल्माका बासिन्दा हुन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले आइतबार मात्रै खबर आएकाले उनीहरूको उद्धारको पहल भइरहेको जानकारी दिए । हिउँमा फसेका मजदुरको उद्धारका लागि गृह मन्त्रालयलाई हेलिकप्टर पठाउन आग्रह गरिएको प्रजिअ बाँस्कोटाले बताए । उनीहरू रहेको ठाउँको पहिचान गरी उद्धार गर्ने तयारी गरिएको उनको भनाइ छ ।
हिउँमा फँसेका बाबुछोरा उद्धार गर्न गएको हेलिकप्टर आज पनि रित्तै फर्कियो ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पाँच दिनदेखि हिउँमा फँसेका बाबुछोराको उद्धार हुन सकेको छैन । आज बिहान दुई पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन नसकेको हो । अन्दाजी ५०÷५५ वर्षका लाक्पा टासी र उहाँका १४र१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबार हिउँमा फँसेका हुन् । ‘चौँरीसँगै हिउँपहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ । हामी निस्कन नसक्ने भयौँ’ भन्दै गत शनिबार हेलिकप्टरबाट निकालिदिन लाक्पाले आग्रह गरेको मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु शेर्पाले बताए । समुद्री सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापुङको लोनाक भन्ने ठाउँमा चौँरीगोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फँसेका हुन् । वडाअध्यक्ष शेर्पालाई लाक्पाले फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गर्नुभएको थियो । सोहीअनुसार शनिबार ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकप्टर दुई पटक उडान गरेको थियो । तर कुन ठाउँमा हो भन्ने मेसो नपाएपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको थियो । आइतबार बिहान दुई पटक उद्धारका लागि सुकेटरबाट पापुङको लोनाक ठाउँमा गए पनि बाबुछोरा बसेको ठाउँ पत्ता नलागेपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए । फोन सम्पर्क भएकाले बाबुछोरा बसेको ठाउँमा आगो बालेर धुवाँ निकाल्न अनुरोध गरेको पाण्डेले बताए । धुवाँ निस्केपछि ठाउँ पहिचान गरेर हेलिकप्टरमार्फत उद्धार गर्ने पाण्डेले बताए ।