बेलायतमा एकै दिन कोरोना भाइरसका एक लाख ८३ हजारभन्दा बढी सङ्क्रमित  

बिहीबार, पुस १५, २०७८

लन्डन,  १५ पुस । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । 
बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा एक लाख ८३ हजार ३७ सङ्क्रमित भेटिएका यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले जानकारी दिएका छन् ।
यहाँका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार एकै दिनमा यहाँ यतिधेरै सङ्क्रमित भेटिएको यो पहिलो घटना हो ।
यसअघि पनि यहाँ सोमबार मात्र करिब एक लाख ३० हजारमा यो सङ्क्रमण भेटिएको बताइएको थियो ।
त्यस्तैगरी उनीहरुका अनुसार मङ्गलबार यहाँ कोरोनाका कारण ५७ को ज्यान गएको छ । यसअघि सोमबार मात्र यहाँ यो सङ्क्रमणबाट १८ जनाको मात्र ज्यान गएको थियो ।
यसरी मङ्गलबार यहाँ मृत्यु हुनेको सङ्ख्या पनि बढेको पाइएको हो । यहाँ अहिलेसम्ममा एक करोड २५ लाखभन्दा बढी सङ्क्रमित पाइएका छन् । त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीले यहाँ अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा एक लाख ४८ हजारभन्दा बढीको ज्यान गएको बताएका छन् ।
यहाँ पछिल्लो समयमा ओमिक्रोनको सङ्क्रमण पनि बढ्दै गएको छ । जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ ।
पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या पनि बढ्दो देखिएको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  २०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार