सोसल मिडिया
Contact Us
युनिकोड
मस्को, १५ पुस । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता हुने भएको छ । उनीहरु बीचमा बिहीबार फोनवार्ता हुने भएको क्रेमलिनले जनाएको छ । क्रेमलिनले बुधबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार उनीहरु बीचमा बिहीबार फोनवार्ता हुन लागेको हो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सो कुराको जानकारी दिनुभएको छ । तर पनि उहाँले सो वार्तामा के कस्ता विषयमा कुराकानी हुने हो भन्ने बारेमा भने केही बताएको छैन । दुई देशका राष्ट्रपतिका बीचमा यही डिसेम्बर ७ मा पनि भिडियोमार्फत् कुराकानी भएको थियो । त्यस समयमा भने उहाँहरुबीचमा युक्रेनको पछिल्लो अवस्था र त्यहाँ रुसको उपस्थितिका विषयमा कुराकानी भएको बताइएको थियो । त्यस समयमा नेटोका विषयमा पनि कुराकानी भएको थियो । सो वार्तापछि रुसी राष्ट्रपति पुटिनले नेटो सुरक्षासम्बन्धी एक सम्झौता पत्र नै पठाएका थिए ।
अमेरिकासँग ‘प्रभावकारी वार्ता’ हुनेमा पुटिन विश्वस्त युक्रेनबारे तनाव बढ्दै जाँदा रूस र संयुक्त राज्य अमेरिकाबीच बिहीबार थप संवाद हुने भएको छ । दुई मुलुकका नेताबीच टेलिफोन वार्ता हुनुभन्दा केही घण्टा पहिले मस्को र वासिङटनबीच ‘प्रभावकारी वार्ता’ सम्भव छ भन्नेमा आफू ‘विश्वस्त’ रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताएका हुन् । युक्रेनसँगको सीमामा मस्कोको सैन्य गतिविधि कम गर्ने नवीनतम प्रयासमा पुटिन र बाइडेनबीच एक महिना पनि नबित्दै दोस्रो टेलिफोन वार्ता तय भएको हो । “म विश्वस्त छु कि हामी आपसी सम्मान र एक अर्काको राष्ट्रिय हितको विचारका आधारमा एक प्रभावकारी रूसी–अमेरिकी वार्ता गर्न सक्छौँ,” विश्व नेताहरूलाई क्रिसमस विदामा सकारात्मक सन्देश दिँदै रूसी नेता पुटिनले भनेको क्रेमलिनले जनाएको छ । एक वरिष्ठ अमेरिकी प्रशासन अधिकारीले संवाददाताहरूसँग भने, “हामी कूटनीति र कूटनीतिक मार्ग अगाडि बढाउनका लागि तयार छौँ ।” यदि रूस युक्रेनमा थप आक्रमणका साथ अघि बढ्यो भने विश्व समुदायले उचित प्रतिक्रिया दिन तयार रहने कुरा वार्तामा बाइडेनले पुटिनलाई बताउने अमेरिकी अधिकारीले बताएका छन् । यो फोनवार्ता जनवरी १० मा जेनेभामा रूस र संयुक्त राज्य अमेरिकाबीचको वार्ता पहिले हुनेछ । वासिङटनले पूर्व सोभियत राज्य युक्रेन नजिकै रुसी सेनाको चलखेलले चिन्ता बढाएको छ । मस्कोले यस आरोपलाई अस्वीकार गरेको छ र पश्चिमले यस महिनाको सुरुतिर प्रस्तुत गरेको व्यापक सुरक्षा मागहरूमा रूस सहमत हुने आशा गरेको बताएको छ । रूसी अधिकारीले बताएअनुसार उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)ले नयाँ सदस्यहरू स्वीकार्नु नहुने र संयुक्त राज्य अमेरिकाले पूर्व सोभियत राज्यमा नयाँ सैन्य आधारहरू स्थापना गर्न नहुने चेतावनी दिएका छन् ।
अमेरिकी, फ्रान्सेली, जर्मन र बेलायतका विदेश मन्त्रीबीच वार्ता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्ना फ्रान्सेली, जर्मन र बेलायतका समकक्षीसँग युक्रेनसँगको तनावका साथै इरानको आणविक कार्यक्रमबारे अमेरिकी चासोका सम्बन्धमा रुसको समन्वयमा टेलिफोनमा छलफल गरेका छन् । विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले प्रेस विज्ञप्तिमार्फत्, एन्टोनी जे ब्लिन्केनले आज फ्रान्सेली विदेश मन्त्री जीन–यवेस ले ड्रायन, जर्मन विदेशमन्त्री अन्नालेना बेरबक, र बेलायती विदेश मन्त्री एलिजाबेथ ट्रससँग कुरा गरेको बताएका हुन् । उनीहरूले युक्रेन विरुद्ध कुनै पनि थप रुसी आक्रमणलाई रोक्न निरन्तर समन्वयको महत्त्वबारे छलफल गरेका छन्, साथै उनीहरूले युक्रेनको स्वतन्त्रता, सार्वभौमसत्ता, र क्षेत्रीय अखण्डताको लागि आफ्नो अटल समर्थन पनि पुनःदोहोर्याएका छन् । संयुक्त राज्य अमेरिका र रुसले जनवरी १० मा हतियार नियन्त्रण र युक्रेनका विषयमा वार्ता गर्नेछन् । साथै नेटोसँग सुरक्षा ग्यारेन्टीका विषयमा वार्ता जनवरी १२ मा स्वीट्जरल्याण्डको जेनेभामा हुने अपेक्षा गरिएको छ ।– रासस/सिन्ह्वा