सोसल मिडिया
Contact Us
युनिकोड
वेलिङ्टन । न्युजिल्याण्डमा कोरोनाभाइरस विरुद्धको खोप सोमबार भित्र्याइएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणमा निकै राम्रो भूमिका खेलेकी प्रधानमन्त्री जसिन्डा अर्डेनले खोप ल्याइएको पुष्टि गरेकी छन् । ६० हजार मात्राखोप स्वदेश ल्याइएको उनले जानकारी दिइन् । खोप ल्याइएपछिको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘फाइजर÷बायोएनटेक खोप न्युजल्याण्डमा ल्याइएको छ । अव यो लगाउन सुरु गरिनेछ । यसलाई ठूलो अभियानको रुपमा अगाडी बढाउने तयारी भएको छ ।’ आफ्नो देशमा पनि केही परीक्षण गरेपछि मात्रै खोप लगाउने अभियान सुरु गरिने पनिप्रधानमन्त्री अर्डेनले जानकारी दिइन् । उनका अनुसार आगामी शनिबारदेखि सुरुमा केही सिमित व्यक्तिहरुलाई मात्रै खोप लगाउन थालिनेछ । कोरोनाभाइरस विरुद्ध अग्रपङ्क्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मीसँगै आइसोलेसन र क्वारेन्टाइनमा कार्यरत कर्मचारीहरूलाई सुरुको चरणमा खोप लगाउने योजना न्युजिल्याण्ड सरकारले बनाएको छ । आगामी दुई देखि तीनहप्तामा झण्डै ३० हजार जनालाई खोप दिने तयारी सरकारले गरेको छ । एक जनालाई दुईवटा खोप लगाउनु पर्ने भएकाले ६० हजार खोप ३० हजार जनालाई लगाउन सकिन्छ । ‘अग्रपङ्क्तिमा रहेर काम गर्दै आएका सफाई मजदुर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई पहिलो चरणमा खोप लगाइने छ’ प्रधानमन्त्री जसिन्डाले भनिन् । खोप लगाएपछि न्युजिल्याण्डका सवै नागरिक कोरोनाभाइरसबाट सुरक्षित हुने उनको विश्वास छ । न्युजिल्याण्डले आगामी मार्च अन्त्यसम्ममा दुई लाख २५ हजार खोप ल्याउने तयारी गरेको छ ।–सिन्ह्वा