सचिवालय बैठकमा प्रचण्डद्वारा चारवटा दस्तावेज पेस

नेकपा विवाद 
शनिबार, कात्तिक २९, २०७७

काठमाडौं । दलका शीर्ष नेताहरूबीच बढेको विवादका माझ शुक्रबारबाट सुरु भएको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चारवटा दस्तावेज पेस गरेका छन् । त्यसमा प्रचण्ड सहित पाँच जना शीर्ष नेताले सचिवालयको बैठक गर्न आग्रह गर्दै प्रधानमन्त्री केपी ओलीलाई पठाएको पत्र र त्यसको जवाफमा अरू नेतालाई बोधार्थ दिँदै प्रधानमन्त्रीले प्रचण्डलाई पठाएको जवाफ पनि रहेका छन् । 
नेकपाका एक नेताले बताए अनुसार ओलीले पठाएको पत्रलाई प्रचण्डले दिएको प्रत्युत्तर र पार्टीको पछिल्लो विवाद र समाधानबारे चर्चा गरिएको राजनीतिक प्रतिवेदन पनि बैठकमा वितरण गरिएको छ । उनका भनाईमा प्रचण्डको राजनीतिक प्रतिवेदनमा पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकताको प्रक्रिया, पार्टीभित्र उठेका समस्याहरू र त्यसमा विभिन्न पक्षका भनाई र पार्टी एकता सम्पन्न गर्न गर्नुपर्ने काम जस्ता विषय समेटिएको छ । प्रतिवेदनमा प्रधानमन्त्रीले काम गर्न नसकेको भन्दै ‘प्रचुर असन्तुष्टि’ जनाइएको छ ।
ती प्रस्तावबारे के हुन्छ ?
ती प्रस्तावबारे आगामी मंसिर ३ गते बस्ने सचिवालय बैठकमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबारको बैठकले पार्टी भित्र देखिएको संकट र त्यसको निवारणबारे कार्यसूची तय गरेर छलफल गर्ने निष्कर्ष निकालेको छ । उनले भने, ‘त्यो एजेण्डामा छलफल गर्नका लागि अहिलेको बैठक सहमतिमा बस्न कार्यकारी अध्यक्ष सहित हामी पाँच जनाले गरेको अनुरोध पत्र, त्यसको जवाफमा अध्यक्ष केपी ओलीले अध्यक्ष प्रचण्डलाई लेख्नुभएको पत्र र पार्टीमा उत्पन्न संकटको प्रकृति र त्यसको समाधानको उपायका बारेमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्ताव सबै आजको बैठकमा वितरण गरिएको छ ।’
यसअघि कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच सदस्यले पार्टी भित्र बढेको मतभेदबारे छलफल गर्न बैठक राख्न गरेका माग प्रधानमन्त्री ओलीले अस्वीकार गर्दै आएका विवरण आएका थिए ।
नेकपामा दुई अध्यक्षबीचको सहमतिमा पार्टीका महासचिवले बैठकको संयोजन गर्ने अभ्यास रहेको बताइन्छ ।
पछिल्ला दिनहरूमा प्रचण्ड पक्षले विभिन्न गुटका बैठक गर्दै सरकार र आफूविरूद्ध षडयन्त्र गरेको आरोप प्रधानमन्त्रीले लगाउने गरेको विवरणहरू आइरहेका छन् । यसै सातामात्रै सार्वजनिक रूपमै प्रधानमन्त्री ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका थिए ।
आरोप–प्रत्यारोप
प्रचण्ड पक्षले चाहिँ ओलीले ‘पार्टी निर्णयको अवज्ञा गरिरहेको र बैठक बस्नै नमानेको’ आरोप लगाइरहेका छन् ।
अघिल्लो शुक्रबार सचिवालयको अनौपचारिक भनिएको बैठकपछि प्रचण्ड सहितका नेताहरूले प्रधानमन्त्री ओलीलाई पत्र नै लेखेर बैठक गर्न माग गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई १० पृष्ठको जवाफ पठाउँदै ‘गुटबन्दी’ गरिरहेको आरोप लगाएका थिए । उक्त पत्र प्रचण्डलाई साथ दिइरहेका पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल अनि सचिवालय सदस्यहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई पनि बोधार्थ दिइएको छ ।
ओलीको पत्रको जवाफमा प्रचण्डले पठाएका पत्रमा रहेका विवरण प्रकाशमा आइसकेको छैन । प्रधानमन्त्री ओलीले ती एजेण्डाहरूमा ‘पहिला सचिवालय बैठकमा छलफल गरौँ र त्यसपछि मात्र के गर्ने टुङ्गो लाग्छ’ भन्नेबाहेक अरू धारणा नराखेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उक्त कार्यसूचीमा शीर्ष नेताहरूको जिम्मेवारी बाँडफाँट सहितका विषयमा उत्पन्न विवाद हल गरेको यसअघिको स्थायी कमिटिको निर्णयको कार्यान्वयन, कोभिड–१९ र त्यसले पैदा गरेको स्वास्थ्य र आर्थिक संकटको सम्बोधन, कर्णाली प्रदेशमा मुख्यमन्त्री फेर्ने विषयलाई लिएर उत्पन्न विवाद, भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुखको नेपाल भ्रमणलगायतका विषय समेटिएको उनको भनाइ छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  १२:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार