म्यान्माको सेना सडकमा, इन्टरनेट सेवा अवरुद्ध

सोमबार, फागुन ३, २०७७

नेपिदवा । म्यान्मारमा फेब्रुअरी १ तारिखमा सेनाले गरेको कू को विरोध गरिरहेकाहरू लक्षित कारबाही सुरु गरिन सक्ने सङ्केतहरू देखा परेका बेला उत्तरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा स्वचालित हतियारबाट गोली चलेको सुनिएको छ । सबैभन्दा ठूलो सहर याङ्गुनमा सैन्य अधिकारीहरू सडकमा उत्रेका छन् । सैन्य कू पछि पहिलो पटक याङ्गुनमा बख्तरबन्द गाडीहरू सडकमा देखिएका छन् । पश्चिमा राष्ट्रहरूका दूतावासहरूले भने हिंसाको प्रयोग नगर्न आग्रह गरेका छन् । स्थानीय समय अनुसार दिनको १ बजेदेखि त्यहाँ इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरिएको छ । संयुक्त राष्ट्र संघका एकजना अधिकारीले सेनाले जनताविरुद्ध ‘युद्धको घोषणा गरेको’ आरोप लगाएका छन् । म्यान्मारका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिवेदक टम एन्ड्रीउजले सैन्य जनरलहरूले ‘हतोत्साहको संकेत’ देखाइरहेको र उनीहरूलाई जबाफदेही बनाइने बताएका छन् । युरोपेली संघ (इयू), अमेरिका र यूकेले हस्ताक्षर गरेको एउटा वक्तव्यमा भनिएको छ, ‘हामी सुरक्षा निकायहरूलाई वैध सरकार हटाइए विरुद्ध भइरहेको प्रदर्शनमा सहभागी भएकाहरू माथि हिंसा नगर्न आग्रह गछौं ।’ म्यान्मारमा भएको सैन्य कू ले नेत्री आङ सान सू चीले नेतृत्व गरेको सरकार अपदस्थ गरिदिएको थियो । गत नोभेम्बर महिनामा भएको निर्वाचनमा नेत्री सू चीको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले ठूलो बहुमतका साथ जित हासिल गरेको थियो । तर सेनाले भने चुनावमा धाँधली भएको बताउँदै आएको छ । सू ची हाल आफ्नै निवासमा नजरबन्दमा छिन्। सयौं अधिकारवादी र नेताहरूलाई पक्राउ गरिएको छ ।


दमनका अन्य संकेत के छन् ?
पानीको फोहराबाट जोगिन प्रदर्शनमा सहभागी मानिसहरूले प्लास्टिक ओढेका थिए । म्यान्मारमा सेनाविरुद्ध देशव्यापी रूपमा लगातार नवौं दिन हजारौँ प्रदर्शनकारीहरूले विरोध कार्यक्रम गरेका छन् । कचीन राज्यमा भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रदर्शनकारीहरूबीच भएको झडपका क्रममा स्वचालित हतियार चलाइएको थियो । रबरको गोली चलाइएको हो वा गोली नै चलाइएको हो भन्ने कुरा भने प्रस्ट हुन सकेको छैन । सैन्य कू पछि पहिलो पटक याङ्गुनमा हतियार चलाउन सकिने गाडीहरू सडकमा देखिएका थिए । दूरसञ्चार सेवा प्रदायकहरूका अनुसार उनीहरूलाई स्थानीय समय अनुसार आइतबार १ बजेदेखि सोमबार ९ बजेसम्म इन्टरनेट सेवा बन्द गर्न निर्देशन दिइएको छ । नेपिद्अस्थित एक चिकित्सकका अनुसार सुरक्षा अधिकारीहरूले रातको समयमा घरहरूमा छापा मारिरहेका छन् ।–बीबीसी

 

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार