सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन (अमेरिका), ८ पुस । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विदेश मामिलाका लागि युरोपेली सङ्घका उच्च प्रतिनिधि जोसेप बोरेलसँग टेलिफोन वार्ता गर्दै लिथुनियाविरुद्ध चीनको बढ्दो राजनीतिक र आर्थिक दबाबका बारेमा साझा चिन्ता व्यक्त गरेका छन् । विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले ब्लिन्केन र बोरेलले चीनको जबर्जस्ती व्यवहारको सामना गर्दै लिथुआनियासँग इयू र अमेरिकाको निरन्तर ऐक्यबद्धतालाई जोड दिएको जनाएका छन् । सो अवसरमा ब्लिन्केन र बोरेलले संयुक्त राज्य अमेरिका–इयू साझेदारीलाई सुदृढ गर्न र साझा चुनौतीहरूको सामना गर्नसँगै काम गर्ने आफ्नो निरन्तर प्रतिबद्धता पुष्टि गरेका छन् । “उहाँहरूले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्न समन्वयात्मक कार्यको आवश्यकतामा जोड दिँदै युक्रेनविरुद्ध कुनै पनि रूसी सैन्य आक्रमण गरेमा रूसी सङ्घको लागि ठूलो मूल्य चुकाउनुपर्छ प्रवक्ता नेड प्राइसले भने । लिथुआनियाको विरूद्ध जनवादी गणतन्त्र चीनका कदमले अमेरिका र युरोपेली कम्पनीहरूलाई असर गरिरहेको छ । “उहाँहरूले चीनको जबर्जस्ती व्यवहारको सामना गर्दै लिथुआनियासँग निरन्तर ऐक्यबद्धतालाई जोड दिँदै आर्थिक पक्षलाई बलियो बनाउन सँगै काम गर्न पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ”, प्रवक्ताले भने । लिथुआनिया र चीनबीचको विवाद यस वर्षको सुरुमा लिथुआनिया पूर्वी युरोपको ‘१७+१’ ब्लकबाट बाहिरिएपछि भएको हो । त्यसपछि लिथुआनियाले ताइवानसँग कूटनीतिक सम्बन्ध बढाएको थियो र ताइवानको प्रतिनिधि कार्यालयलाई अनुमति दिने एकमात्र युरोपेली देश बन्यो । फलस्वरूप गत अगस्टमा चीनले भिल्नियसबाट आफ्नो राजदूत फिर्ता बोलायो त्यसलगत्तै प्रतिक्रियास्वरूप लिथुआनियाले पनि सेप्टेम्बरमा सोही कदम चाल्यो ।– रासस/एएनआई