संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तानमाथिको आर्थिक प्रतिबन्ध खुकुलो बनाउने प्रस्ताव पारित

बिहीबार, पुस ८, २०७८

न्यूयोर्क (अमेरिका),  ८ पुस । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको प्रस्ताव २६१५ पारित गर्दै मानवीय उद्देश्यका लागि अफगानिस्तानमा पैसा प्रवाह गर्न अनुमति दिएको छ । 
नयाँ प्रस्तावका आधारमा अमेरिकाले मानवीय उद्देश्यका लागि अफगानिस्तानमा आर्थिक प्रतिबन्धहरू खुकुलो पार्नेछ र तालिबान अधिकारी र उनीहरूका संस्थाहरूलाई प्रक्रियामा संलग्न हुन अनुमति दिने कुरा खामा प्रेसले  उल्लेख गरेको छ । अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि थोमस वेस्टले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को कदमको स्वागत गर्दै अफगान जनताको समर्थनमा अन्तरराष्ट्रिय समुदायसँगै एकजुट रहेको बताए । 
आज बिहान सर्वसम्मतिले उक्त प्रस्ताव पारित गरेको छ । यसैबीच भारतले सङ्कटग्रस्त देशलाई मानवीय सहायताका लागि प्रतिबन्धहरूबाट छुट दिने प्रस्तावलाई समर्थन गरेको छ ।

अफगानिस्तानमा मानवीय अवस्था गम्भीर 

अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर रहेको रसियाली विदेश मन्त्रालयका मानवअधिकार आयुक्त ग्रिगोरी लुक्यान्त्सेभकाले बताएका छन् । आर्थिक सहायताको प्रावधानमा समस्याहरू रहेका पनि उनले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । अफगानिस्तानको अवस्था कसरी विकास हुनेछ भन्न गाह्रो भएको उनले बताएका छन् । सबैले अफगानिस्तानमा नयाँ अधिकारीहरूको कार्यलाई हेरिरहेका तर उनीहरूले आफ्नो आधिकारिक अन्तर्राष्ट्रिय मान्यताअनुसार कार्य गर्न कुनै हतार नगरेका पनि उनले बताएका थिए । 
त्यहाँको मानवीय अवस्था एकदमै गम्भीर रहेको र आर्थिक सहयोग व्यवस्थामा समस्या भएको लुक्यान्त्सेभलाई उद्धृत गर्दै स्पुतनिकले जनाएको छ ।  यसबाट आप्रवासी समस्या बढ्ने कुरा बिर्सिन नहुने पनि उनले चेतवनी दिएका छन् ।

अमेरिकी विदेशमन्त्री  र कतारी विदेशमन्त्रीबीच छलछल

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार कतारी विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग अफगानिस्तानको पछिल्लो घटनाक्रमका बारेमा समीक्षा गरेका छन् । 
ब्लिन्केनले कतारी जनतालाई हालै कतार राष्ट्रिय दिवस मनाएकामा बधाई दिँदै कतारले अमेरिकी नागरिक, कानुनी स्थायी बासिन्दा र अफगानिस्तानबाट सुरक्षित ट्रान्जिटमा सहयोग गर्न निरन्तर काम गरेकामा धन्यवाद व्यक्त गरेका छन् । ब्लिन्केनले यसअघि नै अफगानिस्तानलाई प्रदान गरिने सहयोगको स्तर बढाउन अन्तरराष्ट्रिय समुदायसँग मिलेर काम गर्ने र कोभ्याक्समार्फत सङ्घर्षग्रस्त देशलाई थप १० लाख कोभिड–१९ खोपको खुराक उपलब्ध गराउने बताएका छन् । 
सो अवसरमा संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका जनतालाई सहयोग गर्न मानवीय सहायता र अन्य आवश्यक सहयोग प्रवाह सुनिश्चित गर्न अन्तरराष्ट्रिय समुदायसँग अथक प्रयास गरिरहेको समेत उल्लेख गरेका छन् ।– रासस/एएनआई

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार