अफगान–इरान सीमामा १०० तेल ट्याङ्करमा आगलागी

आइतबार, फागुन २, २०७७

इस्लाम क्वाला (अफगानिस्तान) । इरानसँग सीमा  जोडिएको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्याङ्करमा आगलागी भएको छ । अधिकारीका अनुसार उक्त आगलागीबाट लाखौं डलर बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । अफगानिस्तानको पश्चिमी शहर हेरातबाट करिब १२० किलोमिटर टाढा इरानसँगको सीमा इस्लाम क्वालामा शनिबार अपराह्न उक्त आगलागी भएको थियो । आगो नियन्त्रणमा ल्याइए पनि उक्त घटनाको छानबिन र अनुसन्धान सुरु भइसकेको अधिकारीले बताएका छन् । हेरात प्रान्तका गभर्नरका प्रवक्ता जैलानी फरहादले आगलागीबाट १०० वा २०० ट्याङ्कर ध्वस्त भएको जानकारी प्राप्त भएको जनाउँदै आगलागीबाट सोचेभन्दा बढी नोक्सानी भएको बताए । उक्त आगलागीका कारण करिब २० व्यक्ति घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको पनि बताए । सामाजिक सञ्जालमा राखिएका भिडियो फुटेजमा आकाशमा धुँवाको ठूलो मुस्लो देखिएको छ । अफगान अर्थ मन्त्रालयले आगलागीबाट ठूलै आर्थिक क्षति भएको जनाउँदै इन्धन, ट्याङ्कर र भन्सार कार्यालयहरुमा क्षति पुगेको बताएको छ ।  हेरात चेम्बर अफ कमर्शका प्रमुख युनुस क्वाजी जादाले प्रारम्भिक विवरणमा दशौं लाख डलर बराबरको क्षति पुगेको बताउनुभयो । हेरात प्रान्तका धेरैजसो स्थानमा आइतबार विद्युत आपूर्ति अवरुद्ध भएको थियो ।  इस्लाम क्वाला अफगानिस्तानको एउटा महत्वपूर्ण व्यापारिक नाका हो । यस नाकाबाट इरानसँगको अधिकांश व्यापारिक कारोबार हुने गर्दछ ।  अमेरिकी प्रतिबन्धका बाबजुद इरानबाट तेल र ग्यास आयात गर्न अमेरिकाले अफगानिस्तानलाई छुट दिएको छ ।  इरानी विदेश मन्त्रालयका प्रवक्ता सईद खाटीबजादेहले आगलागीको घटना हुँदा इरानतर्फको सीमालाई केही समय खुला गर्नु परेको जानकारी दिए ।  दुबै मुलुकका अग्निनियन्त्रकलाई तत्काल परिचालन गरिएका पनि उनले बताए । उनले आगलागीको घटना भएलगत्तै नजिकैको सुरक्षा जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको जानकारी दिए ।–एएफपी
 

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार