जर्मन विदेशमन्त्री भन्छन, ‘अफगानिस्तानमा नेटो सैन्य चाहिन्छ’ 

आइतबार, फागुन २, २०७७

बर्लिन । जर्मनीले अफगानिस्तानमा आफ्नो सैन्य उपस्थिति बढाउन चाहेको जर्मनीका विदेशमन्त्री हेइको मासले बताएका छन् । जर्मनीले अफगानिस्तानमा संयुक्त राज्य अमेरिकापछि धेरै सैनिक पठाएको छ । अफगानिस्तानमा सेना पठाउन प्राप्त भएको वार्षिक जनादेश समाप्त हुनुभन्दा पहिले अफगान सरकार र तालिबानबीच शान्ति वार्ता हुने सम्भावना नरहेको जर्मनीको भनाइ छ । शान्ति वार्ता ‘मार्चको अन्त्यअघि टुङ्गिने सम्भावना कम छ । त्यो बेलासम्मका लागि पूर्व निर्णयलाई परिवर्तन गर्नु नहुने जर्मनीले अडान हो’ उनले फन के मिडिया समूहसँग भने, ‘हामीले जर्मनीको संसद्को तल्लो सदनमा बुन्डेस्ट्यागको साथ नयाँ जनादेशसहित विभिन्न परिदृश्यहरूको तयारी गर्नुपर्नेछ ।’ 
संयुक्त राज्य र तालिबानीबीचको सम्झौतामा सबै विदेशी सेनालाई मे २०२० सम्म फिर्ता गर्ने सहमति भएको छ । राष्ट्रपति जो बाइडनले समय सीमा आउँदासम्म पनि गम्भीर दुविधामा रहेको र तालिवानले हिंसा अन्त्य गर्ने कुनै सङ््केत नदेखाएको एक उच्च अमेरिकी अधिकारीले बताएका छन् । ट्रम्प प्रशासनले अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता लान तालिवान समूहसँग सहमत देखिए पनि नयाँ अमेरिकी राष्ट्रपतिले गत वर्ष तालिवानसँगको वाशिङ्गटनमा गरिएको सम्झौताको समीक्षाको आदेश दिएका छन् । यसबाट सेना फिर्ता प्रक्रिया लम्बिने अनुमान गर्न थालिएको छ ।  उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का रक्षामन्त्रीहरूको यसै महिनाको अन्तमा बस्ने बैठकमा नेटो गठबन्धनको १० हजार सेनालाई फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने कार्यक्रम छ । जर्मनीको संसद्का धेरै समूहहरू, विशेष गरी उदारवादी र कट्टर वामपन्थी समूहले अफगानिस्तानबाट जर्मन सैनिक फिर्ता ल्याउने विषयमा नयाँ रणनीति बनाउन आह्वान गरेका छन् ।–एएफपी 
 

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  ०५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार