मलेसियामा व्यापक बाढी, ३५ हजारभन्दा बढी विस्थापित

सोमबार, पुस ५, २०७८

क्वालालम्पुर, ५ पुस । मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन् । यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार मलेसियाका कम्तीमा पनि ३५ हजार जना बाढीबाट विस्थापित भएका छन् । मलेसियामा केही दिनदेखि निरन्तर रुपमा वर्षा भएको छ । वर्षाका कारण उत्पन्न भएको बाढी र पहिरोबाट ठूलो संख्याका नागरिक विस्थापित भएका बताइएको हो ।
यहाँको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । यसबाट यहाँका धेरैजसो नागरिकहरु प्रभावित भएका बताइएको छ । यहाँका करिब सात ओटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ । राजधानी क्वालालम्पुरमा पनि बाढीको प्रकोप बढ्दो मात्रामा देखिएको छ । राजधानी क्लालालम्पुरको बाहिरी क्षेत्रका हजारौँ व्यक्ति विस्थपित हुन पुगेका पनि यहाँका अधिकारीहरुले जनाएका छन् ।
मलेसियाको मौसम विभागले यहाँका कैयौँ राज्यमा अझै पनि वर्षा जारी रहने भन्दै सतर्क रहन सूचना जारी गरेको छ । नागरिकहरुलाई यसका लागि सतर्कता अपनाउन भनिएको छ ।

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २०८ पुग्यो

फिलिपिन्समा यसवर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको सङ्ख्या २०८ पुगेको छ । योसँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पु¥याउने प्रयासहरू बढ्दै गएको छ । हालैका वर्षहरुमा फिलिपिन्स आएको घातक आँधी मध्ये एक भएको जनाइएको छ । राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रलाई तहसनहस पारेपछि कम्तीमा २३९ जना घाइते भएका र ५२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस आँधीको कारण यस क्षेत्रका ३००,००० भन्दाबढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छोडेर भागेका थिए । 
आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उडाएको छ । बिजुलीका पोल ढलेका छन् र गाउँ बाढीमा परेका छन् । राईले गत बिहीबार प्रतिघण्टा १९५ किलोमिटर (१२० माइल) गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो । सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौँ सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन् । खाना, पानी र चिकित्सा आपूर्ति बोकेका नौसेनाका जहाजहरू प्रभावित क्षेत्रतर्फ पठाइँदै छन् । परोपकारी र आपत्कालीन सेवाहरूले चन्दाका लागि अपिल गरेका छन् । सन् २०१३ मा आएको हाइयान नामक आँधी  यस देशको इतिहार घातक रहेको यसमा परी सात हजार ३०० व्यक्तिको मृत्यु वा बेपत्ता भएका थिए ।

बाढीका कारण इराकमा १२ को मृत्यु

अत्यधिक बर्षापछि आएको बाढीका कारण इराकमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । देशको इर्बिल प्रान्तका गभर्नर ओमेड खोश्नावले आइतबार दिएको जानकारीअनुसार कम्तीमा १५ क्षेत्रमा बाढीको प्रभाव परेको छ । बाढीले दुई हजार ५०९ घरमा क्षति पुगेको छ भने ८७६ घर नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  बाढीका कारण दुई करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको समाचारमा जनाइएको छ । त्यसैगरी खेतियोग्य जमिन, सडक, ढललगायतमा पनि क्षति पुगेको र सेवा अवरुद्ध भएको अधिकारीहरुले बताएका छन् ।गत बिहीबार र शुक्रबार देशको इर्बिलसहितको कुर्दिश क्षेत्रमा भारी बर्षा भएको थियो । घटनास्थल राजधानी बग्दाददेखि ३७५ किलोमिटर टाढा पर्दछ ।–रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार