सचिवालय बैठक मंसिर मंसिर ३ मा पुन बस्ने  

नेकपा विवाद 
शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौँ । सत्तारूढ नेकपाको सचिवालय बैठक केहीबेर बसेर सकिएको छ । शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको छ । आजको बैठकले आगामी बैठकका लागि एजेण्डासमेत तय गरेको छ । मुख्यतः पार्टीमा देखिएको संकट र त्यसको समाधानलाई केन्द्रमा राखेर छलफल गरिने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकल दाहालसहित सचिवालयका बहुमत सदस्यले बुझाएको पत्र र त्यसको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बुझाएको पत्र बैठकमा पेस भएको थियो ।
त्यसबाहेक ती सबैलाई समेटेर अध्यक्ष दाहालले बैठकका लागि तयार पारेको एजेण्डासहितको प्रतिवेदन पनि पेस भएको थियो । यी सबै अध्ययन गरेर मंसिर ३ गते बैठक बस्ने निर्णय भएको हो । कात्तिक २२ मा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले बैठकको आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई दुई पेज लामो पत्र बुझाएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई सम्बोधन र अन्य चार नेतालाई बोधार्थसहितको पत्र लेखेका थिए ।

प्रचण्डले पेश गरे राजनीतिक प्रतिवेदन

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी संकटबारे राजनीतिक प्रतिवेदन तयार पारेका छन् । शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव सबै सदस्यलाई दिइएको छ ।

प्रचण्ड बाहिरिएपछि ओलीसहित सचिवालयका ६ नेताको अनौपचारिक छलफल
नेकपा सचिवालयको औपचारिक बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले ६ शीर्ष नेताको अलग्गै अनौपचारिक छलफल गरेका छन् । प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता श्रेष्ठ औपचारिक बैठकबाट बाहिरिएलगत्तै ओलीले बाँकी नेताहरूसँग केहीबेर छलफल गरेका हुन् । ओलीले केहीबेर कुराकानी रहेको बताएपछि वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यद्वय रामबहादुर थापा ‘बादल’ र ईश्वर पोखरेल तथा महासचिव विष्णु पौडेल अलग्गै छलफलमा बसेका थिए । 
प्रधानमन्त्री ओलीले ६ नेताहरूलाई केहीबेर अनौपचारिक छलफलका लागि बस्न सूचित गरेपछि केहीबेर अलग्गै कुराकानी भएको हो ।
नेता गौतम केहीबेरको अनौपचारिक छलफलमा सहभागी भएर बाहिरिएका थिए । 

पत्रको दोहोरी 
नेकपामा पत्रको दोहोरी चलेको छ । पार्टी अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक डाक्न सहमति दिन भन्दै कात्तिक २२ गते लिखित पत्र बुझाएका थिए । ओलीले विधानको धारा देखाउँदै तत्काल बैठक डाक्न सहमति दिन अस्वीकार गरे । 
बुधबार पाँच पानामा जवाफ फर्काएका थिए । त्यसको जवाफ समेट्दै पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई पुनः अर्काे पत्र लेखेका छन् । त्यो सहित उनले पार्टीको संकट समाधानका लागि कार्यकारी अध्यक्षको तर्फबाट प्रस्ताव पनि पेस गरेका छन् । 
जम्माजम्मी ३० मिनेट चलेको शुक्रबारको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सुरुमै आफ्ना धारणा राखेका थिए । 
अध्यक्ष ओलीले सचिवालयमा प्रस्तुत दस्तावेज र उठेका विषय सचिवालयमै छलफल गर्नुपर्ने र तल स्थायी कमिटीमा लैजानुनपर्ने बताएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  १९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार