सोसल मिडिया
Contact Us
युनिकोड
कायरो । द्वन्द्वग्रस्त मुलुक यमनमा सन् २०२१ मा २० लाखभन्दा बढी बालबालिका भोकमरीमा पर्ने देखिएको छ । संयुक्त राष्ट्रसंघीय विभिन्न निकायले शुक्रबार सार्वजनिक गरेका विवरणहरुका अनुसार उनीहरु पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरु मात्रै हुन् । लामो समयदेखिको द्वन्द्वका कारण अति गरिब मुलुकमा पर्न गएको यमनमा द्वन्द्व र गरिवीका कारण बालबालिकाहरुले भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको जनाइएको छ । यो वर्ष भोकमरी तथा कुपोषणमा पर्ने २० लाखमध्ये झण्डै चार लाख बालबालिकामा कुपोषणका कारण मृत्युको जोखिम देखिएको पनि राष्ट्रसंघीय निकायले उल्लेख गरेको छ । भोकमरीमा पर्ने र मृत्यु हुनेहरुको सङ्ख्या अघिल्लो बर्षको भन्दा धेरै हुने अनुमान गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । भोकमरीबाट प्रभावितहरूको सङ्ख्या बढेपछि उनीहरूका लागि सहयोगको पनि अभाव हुने आशङ्का गरिएको छ । यसले यमनमा मानवीय सहायतसम्बन्धी सहयोगमा पनि असर पर्ने अधिकारीहरूले जनाएका छन् । राष्ट्र संघीय अधिकारीहरुले १२ लाखभन्दा बढी गर्भवती तथा सुत्केरीलाई पनि कुपोषणको खतरा रहेको बताएका छन् । ‘अहिले देखिएको तथ्याङ्कले यमनमा मानवीय सहायताको अभाव अझ बढी हुनसक्ने देखिएको छ, हरेक बालबालिकाले बाच्न र कुपोषणमुक्त हुनका लागि संघर्ष गर्नु पर्ने भएको छ’, विश्व खाद्यकार्यक्रमका कार्यकारी निर्देशक डेभिड बेस्लीले भने । उनले सार्वजनिक गरेको तथ्य तथा विवरणहरु खाद्य तथा कृषि सङ्गठन, युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रुपमा तयार परेका हुन् ।–एपी