उत्तर कोरिया र अमेरिकाको शर्तकाे भारीले शान्त हुन नसकेको कोरियाली प्रायद्धीप

सोमबार, मंसिर २७, २०७८

सीउल, २७ मंसिर । कोरियाली प्रायद्धीपको युद्ध अन्त्य गर्न उत्तर तथा दक्षिण कोरिया, अमेरिका र चीनबीच सैद्धान्तिक रुपमा सहमत भए पनि वार्ता हुन सकेको छैन् । उत्तर कोरिया र अमेरिकाको अनुचित शर्तका कारण कोरियाली प्रायद्धीपको युद्ध अन्त्य हुन नसकेको विज्ञहरुले बताउँदै आएका छन् ।  उत्तर र दक्षिण कोरियाबीच सन् १९५० मा युद्ध भएको थियो । युद्धको तीन वर्षपछि युद्धविराम भएसँगै सन् १९५३ मा युद्ध अन्त्य भएको थियो । युद्ध अन्त्य भए पनि दुई कोरियाबीच कहिल्यै पनि शान्ति सम्झौता भएन । औपचारिक रुपमा युद्ध अन्त्य भए पनि उत्तर र दक्षिण कोरिया लामोसमयदेखि युद्धको मनस्थितिबाट गुज्रिरहेका छन् । उत्तरलाई चीन र दक्षिण कोरियालाई अमेरिकाले समर्थन गर्दै आएको छ । कहिलेकाही उत्तर र दक्षिण कोरियालाई वासिंगटन र सीउलले अनावश्यक रुपमा उचाल्दै आएका छन् ।दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले पनि उत्तर कोरिया र अमेरिकाको अनावश्यक शर्तका कारण कोरियाली प्रायद्धीपको युद्ध अन्त्य हुन नसकेको बताएका छन् ।अस्ट्रेलिया भ्रमणमा रहेका मुनले अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिससँगको भेटवार्तामा कोरियाली प्रायद्धीपको युद्ध समाप्त गर्न विभिन्न देशहरुबीच सहमति भए पनि वार्ता हुन नसकेको बताए । तर, ती देशबीच कस्तो सहमति भएको छ भन्ने विषयमा भने उनले केही खुलाएनन् । 

के चाहन्छ कोरिया ?
सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले आफ्नो देश वार्ताप्रति सकरात्मक भएको बताएकी थिइन् । तर, त्यसका लागि अमेरिकाले आफूहरुबिरुद्ध शत्रुतापूर्ण व्यवहार हटाउनुपर्ने उनले शर्त राखेकी थिइन् । दक्षिण कोरियामा अमेरिकी सेनाको उपस्थितिलाई लिएर उत्तर कोरियाले बारम्बार बिरोध गर्दै आएको छ । अमेरिका र दक्षिण कोरियाले वर्षेनी संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । त्यस्तै, उत्तरले आफूहरुमाथि लाग्दै आएको प्रतिबन्धको पनि बिरोध गर्दै आएको छ । तर, उत्तरले आणविक परीक्षण त्यागेमा मात्र उमाथिको प्रतिबन्ध हट्ने अमेरिकाले शर्त राखेको छ । अमेरिका र उत्तर कोरियाको आआफ्नो शर्तका कारण वार्ता हुन नसकेको दक्षिण कोरियाली राष्ट्रपति मुनले बताएका छन् । ‘दुबै देशको आफ्नै शर्त र अडानका कारण हामी वार्तामा बस्न सकेका छैनौं । मलाई लाग्छ कुनै पनि बेला वार्ता हुन्छ,’ उनले भने । कोरियाली प्रायद्धीपको युद्ध अन्त्य गर्ने बारेमा दक्षिण कोरियाका राष्ट्रपति मुनले उत्तरसँग वार्ता गर्दै आएका छन् । युद्ध अन्त्य गर्ने औपचारिक घोषणाले उत्तरलाई आणविक हतियार त्याग्न दबाब दिने उनको भनाई छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १३:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार