सोसल मिडिया
Contact Us
युनिकोड
न्युयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले गत साता सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको आधारहीन दाबीको समर्थन गरेर वरिष्ठ रिपब्लिकनहरूले प्रजातन्त्रको अवमूल्यन गरिरहेको टिप्पणी गरेका छन् । सीबीएस न्यूजसँगको एउटा अन्तर्वार्तामा ओबामाले जो बाइडन यो निर्वाचनमा ‘स्पष्ट रूपमा विजयी’ भएको बताएका छन् । ओबामाको यो अन्तर्वार्ता आगामी आइतवार प्रसारण हुँदैछ । अमेरिकी सञ्चारमाध्यमहरूले गत साता गरेको मतगणना परिणामको प्रक्षेपणमा बाइडन निर्वाचित भएको देखिएको छ । तर अझै केही राज्यमा मतगणना जारी छ । मतदानमा धाँधली भएको भन्दै ट्रम्पले धेरैतिर मुद्दा हालेका छन् । तर उनको टोलीले त्यस्तो दाबी पुष्टि गर्ने कुनै प्रमाण देखाएका छैनन् ।
ओबामाले के भने ? ट्रम्पले पराजय बेहोर्न नचाहेको हुँदा उनले मतगणनाबारे अनर्गल दाबी गरेको ओबामाले आरोप लगाए । ओबामाको दोस्रो कार्यकाल सकिएपछि ट्रम्प राष्ट्रपति निर्वाचित भएका थिए । यो निर्वाचन सकिएपछि ओबामा पहिलो पटक बोलेका हुन् । कुरा राम्ररी बुझेका अन्य रिपब्लिकनहरूले ट्रम्पको भनाइलाई समर्थन गरेकोमा आश्चर्य प्रकट गर्दै ओबामाले भने ‘यो बाइडन–प्रशासनलाई मात्र नभएर सामान्य रूपमै प्रजातन्त्रको वैधानिकतामा प्रश्न उठाउने थप एउटा कदम हो । त्यो खतरनाक बाटो हो ।’ ओबामा आफ्नो नयाँ संस्मरणात्मक कृति सार्वजनिक हुनुअघि बोलेका थिए ।
पुस्तकमा के छ ?
‘अ प्रोमिस्ड ल्यान्ड’ नामक पुस्तकमा ओबामाको सांसददेखि राष्ट्रपतिको पहिलो कार्यकालसम्मका विषयहरू समेटिएका छन् । नोभेम्बर १७ मा सार्वजनिक हुने उनको पुस्तक ह्वाइटहाउसमा ओबामाको कार्यकाल समेटिएको दुईमध्ये पहिलो किताब हो । सीएनएनले उद्धृत गरेको संस्मरणको एउटा अंशमा ओबामाले भनेका छन्, ‘शक्तिमा ट्रम्पको उदय एउटा अश्वेत व्यक्तिले देशको नेतृत्व गर्दाको त्रास देखाएर भएको थियो ।’ ‘ह्वाइटहाउसमा मेरो उपस्थितिले गहिरो तनाव सिर्जना गरे जसरी त्यसो गरियो । त्यो प्राकृतिक लहर नै बिगारिए जसरी उत्पन्न गराइएको धारणा थियो’, उनको पुस्तकमा लेखिएको जनाइएको छ । ‘एउटा अश्वेत व्यक्ति ह्वाइटहाउसमा पुगेकोमा आश्चर्यचकित दशौँ लाख अमेरिकीहरूलाई ‘ट्रम्पले उनीहरूमा रहेको जातीय त्रासको निदानको वाचा गरेका थिए ।’
एरिजोनामा जो बाइडेन विजयी जो बाइडेनले एरिजोना राज्यमा पनि जित हात पार्दै राष्ट्रपति ट्रम्पसँगको अग्रता बढाएका छन् । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले जितेको हुन् । ११ इलेक्टोरल भोट रहेको एरिजोनामा बाइडेनले ट्रम्पलाई ११ हजारभन्दा बढी मतले हराएका हुन् । बाइडेनले एरिजोनामा १६ लाख ६८ हजार ६ सय ८४ मत प्राप्त गर्दा ट्रम्पले १६ लाख ५७ हजार २ सय ५० मत प्राप्त गरे । योसँगै बाइडेनले २९० इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पले २१७ भोट पाएका छन् । यसअघि ३ इलेक्टोरल भोट रहेको अलास्कामा ट्रम्प विजयी भएको घोषणा गरिएको थियो । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन् २७० इलेक्टोरल भोट आवश्यक पर्छ । सन् १९९६ यता पहिलो पटक एरिजोनामा डेमोक्रेटिक उम्मेदवार विजयी भएका हुन् । यसअघि सन् १९९६ मा बिल क्लिन्टन एरिजोनामा विजयी भएका थिए । फक्स न्युज र समाचार संस्था एपीले भने चुनाव सम्पन्न भएकै राति एरिजोनामा बाइडेन विजयी हुने प्रक्षेपण गरेका थिए । शनिबार जो बाइडेनलाई आधिकारिक रुपमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिँदैछ तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आधारहीन आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् । १५ इलेक्टोरल भोट रहेको नर्थ क्यारोलाइना र १६ इलेक्टोरल भोट रहेको जर्जियामा भने विजेता घोषणा गर्न बाँकी छ । नर्थ क्यारोलाइनामा ट्रम्प अगाडि छन् भने जर्जियामा बाइडेन अगाडि छन् ।–बीबीसी