सोसल मिडिया
Contact Us
युनिकोड
नोमपेन्ह, २१ मङ्सिर । कम्बोडियाका शक्तिशाली नेता हुन सेनले म्यानमारको भ्रमण गर्ने भएका छन् । झण्डै तीस वर्षदेखि एकछत्र शासन गर्दै आउनु भएका हुन सेनले सैन्य शासन लागु भएको म्यानमारको भ्रमण गर्न लाग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । कम्बोडियाका प्रधानमन्त्रीसमेत रहनु भएका हुन सेनले आगामी जनवरीमा म्यानमारको भ्रमण गर्ने तय भएको उहाँका प्रवक्ताले मङ्गलबार जानकारी दिएका छन् । म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि विदेशी नेताको यो नै पहिलो भ्रमण हुने भएको छ । म्यानमारको सेनाले गत फेब्रुअरी १ मा देशका शिर्ष नेता तथा उच्च अधिकारीलाई बन्धक बनाउदै सत्ता नियन्त्रणमा लिएको थियो । पूर्वसैन्य कमाण्डर हुन सेनले सन् १९८५ देखि कम्बोडियामा शासन गर्दै आउनु भएको छ । उहाँ विश्वमै सबैभन्दा लामो समय शासन गर्ने नेतामा पर्छन् । अन्य धेरै देशले सहयोग र सहकार्य बन्द गरेको म्यानमारसँग हुन सेनले सहकार्य बढाउन भ्रमण गर्न लागेको प्रवक्ताको भनाइ छ । “जुन्ता सरकारसँग सँगसगै काम गर्ने योजनाका साथ उहाँले भ्रमण गर्न लाग्नु भएको हो,” हुन सेनका प्रवक्ताले भने । संसारभरीबाट सैन्य शासनको विरोध भइरहेको बेला त्यही देशको भ्रमण गर्ने र त्यही शासकसँग सहकार्य गर्ने हुन सेनको योजनालाई कुटनीतिक क्षेत्रमा चासोका साथ हेरिएको छ । म्यानमारका विदेश मन्त्री वुन्ना मौङले मङ्गलबार नोमपेन्हमा हुन सेनसँग भेटवार्ता गर्दा म्यानमार भ्रमणको विषयमा छलफल भएको जनाइएको छ । भेटवार्ताका क्रममा म्यानमारका विदेश मन्त्रीले हुन सेनलाई म्यानमार भ्रमणका लागि औपचारिकरुपमा निमन्त्रणा गरेका थिए । उनको भ्रमण जनवरी ७ देखि ८ सम्म हुने तय भएको अधिकारीले जानकारी दिएका छन् । –रासस/एएफपी