भारतमा सङ्क्रमितको सङ्ख्या डेढ वर्षपछिकै कम

मंगलबार, मंसिर २१, २०७८

नयाँ दिल्ली, २१ मङ्सिर । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या निकै कम भएको छ । सरकारी अधिकारीले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सबैभन्दा कम सङ्क्रमित भएको मङ्गलबार जानकारी दिएका छन् । 
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ८२२ जना नयाँ सङ्क्रमित थपिएका हुन । 
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो सङ्ख्या ५५८ दिनपछिकै सबैभन्दा कम भएको जनाएको छ । 
भारतमा पछिल्लो समयका सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या केरला राज्यमा देखिदै आएको छ । पछिल्लो थपिएका मध्ये पनि केरलाका मात्रै तीन हजार २७७ जना रहेका छन ।
मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ९५ हजार १४ रहेको छ । यो सङ्ख्या पनि ५५४ दिनपछिकै सबैभन्दा कम रहेको मन्त्रालयका अधिकारीको भनाइ छ । 
कुल सङ्क्रमितमध्ये एक प्रतिशतभन्दा कम मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेका हुन् । मन्त्रालयले पछिल्लो एक दिनमा १० हजार चार जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ । 
दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि निकै कम भएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड ४० लाख ७९ हजार ६१२ रहेको छ ।

टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिनमा २० हजारमा सङ्क्रमण

टर्कीमा कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको पाइएको छ । पछिल्लो समयमा टर्कीमा यसको सङ्क्रमण बढ्दै गएको देखिएको छ । यहाँ सोमबार मात्र २० हजार जनामा यो सङ्क्रमण देखिएको हो । टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र यहाँ २० हजार ३३ जनामा सङ्क्रमण भएको देखिएको जनाएको छ । सोमबार मात्र यो सङ्क्रमणबाट १८७ जनाको ज्यान गएको छ । यहाँ यो सङ्क्रमणबाट अहिलेसम्म ७८ हजारभन्दा बढीको ज्यान गएको पाइएको छ ।–रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  २१:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार