एम्नेस्टी इन्टरन्याश्नल भन्छ, ‘टीग्रे राज्यमा सयौँ मानिसको आमहत्या’

इथियोपिया अशान्ति 
शुक्रबार, कात्तिक २८, २०७७

इथियोपिया । उत्तरी इथियोपियाको टीग्रे क्षेत्रमा बढ्दो द्वन्द्वका माझ ‘सम्भवतः सयौँ गैरसैनिकहरूको आमहत्या’ भएको एउटा अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टरनेश्नलले जनाएको छ ।
प्रत्यक्षदर्शीहरूले टीग्रे पीपल्स लिबरेशन फ्रन्ट (टीपीएलफ) नामक सङ्गठनका सैनिकहरूले सोमबार भएको त्यस्तो नरसंहारको घटना गराएको बताएका छन् । तर टीग्रेका अधिकारीहरूले टीपीएलफका समर्थकहरू उक्त घटनामा संलग्न नभएको दाबी गरेका छन् । अघिल्लो साता सरकारी सैन्य र टीपीएलफबीच भिडन्त सुरु भएको थियो ।
इथियोपियाको त्यस क्षेत्रमा टेलिफोन लाइन र इन्टरनेट सेवा अवरुद्ध भएकोले त्यहाँबाट सूचना तथा जानकारीहरू हासिल हुन अप्ठ्यारो अवस्था छ । उक्त द्वन्द्वमा सबैभन्दा धेरै सङ्ख्यामा गैरसैनिकहरूको ज्यान लिइएको यो नै पहिलो घटना हुनसक्छ । 
इथियोपियाको सरकार र देशको उत्तरी राज्य टीग्रेमा नियन्त्रण कायम गरेको टीपीएलफबीच लामो समयदेखि तनाव रहँदै आएको छ जुन अब सैन्य भिडन्तमा परिणत भएको छ । भिडन्तका क्रममा संघीयसैन्यले हवाई आक्रकमण पनि गरेको छ । 
परिणामस्वरूप हजारौँ गैरसैनिक सर्वसाधारणहरूले शरणका लागि सीमा पार गरेर सुडानमा प्रवेश गरेका छन् । सुडानले तिनीहरूलाई एउटा शरणार्थी शिविरमा राखेर आश्रय दिने बताएको छ ।

एम्नेस्टीले के भनेको छ ?
एउटा वक्तव्य उक्त मानवाधिकारवादी संस्थाले भनेको छ, ‘नोभेम्बर ९ को रात टीग्रे क्षेत्रको दक्षिणपश्चिममा अवस्थित मे काडेरा नगरमा सम्भवतः सयौँ मानिसहरूलाई छुरी धसेर वा धारिलो हतियारले काटेर मारिएको छन् ।’ उक्त संस्थाले उक्त घटनाको ‘तस्बिर र भिडिओहरू हेरेको र ती सक्कली नै हुन् भनेर डिजिटल रूपमा प्रमाणीकरण पनि गरिएको’ जनाएको छ । ती तस्बिर र भिडिओमा नगरभरि मानिसहरूको शरीर छरिएर रहेका र केहीलाई स्ट्रेचरमा हालेर अन्यत्र लैजाँदै गरेको देख्न सकिने बताइएको छ । एम्नेस्टीका अनुसार मारिएकाहरू त्यहाँको द्वन्द्वमा सहभागी नरहेका श्रमिकहरू भएका जस्तो देखिन्छ ।
एमनेस्टीका पूर्वी तथा दक्षिणी अफ्रिकाका निर्देशक डिप्रोस मुचेनाले उक्त घटनालाई ‘एउटा भयानक दुःखान्त घटना’ भनेका छन् । उनले त्यहाँ सञ्चार सेवा पुनःस्थापित गर्न र पर्यवेक्षकहरूलाई त्यस क्षेत्रमा जान दिन सरकारलाई आग्रह गरेका छन् ।
एमनेस्टीले केही प्रत्यक्षदर्शीहरूलाई उद्धृत गरेर जनाएअनुसार टीपीएलफप्रति बफादार सैन्यले तिनीहरू लुग्डी क्षेत्रमा संघीय सैन्यबाट पराजित भएपछि धारिलो हतियार प्रयोग गरेर भएको उक्त आक्रमण गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  १३:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार