सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । महाभियोगसम्बन्धी आरोपबारे जबाफ दिँदै पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका वकिलहरुले ट्रम्पका समर्थकहरूले आफ्नै विवेकमा संसद् भवनमाथि आक्रमण गरेको जिकिर गरेका छन् । वाशिङ्टनस्थित क्यापिटल भवनमाथि गत जनवरी ६ तारिखको दिन आक्रमण भएको थियो । मंगलबारबाट अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा महाभियोगसम्बन्धी सुनुवाइ शुरू हुँदैछ । गत महिना तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो । आरोप हिंसात्मक दङगा शुरू हुनुअगाडि आफ्ना समर्थकहरूलाई ‘हिंसाका लागि उक्साएको’ उनीमाथि आरोप छ । ट्रम्पले चाहिँ महाभियोगसम्बन्धी सुनुवाइमा आफू बयान दिन नआउने बताउँदै आएका छन् । उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो भने त्यति बेला संसद् भवनभित्र रहेका सांसदहरू लुक्न बाध्य भएका थिए । अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका ट्रम्प पहिलो राष्ट्रपति हुन् । त्यसैगरी अमेरिकामा महाभियोग लगाइएका कुल तीनमध्ये एक राष्ट्रपति पनि उनी हुन् । सुनुवाइपूर्व सोमवार सार्वजनिक विवरणअनुसार ट्रम्पका वकिलहरूले संघीय अनुसन्धान निकाय एफबीआईका दस्तावेजहरूबाट जनवरी ६ तारिखको घटना हुनुभन्दा केही दिन पहिल्यै त्यसको योजना बनाइएको देखिएको उल्लेख गरेका छन् । त्यसको अर्थ त्यो दिनको दङगका लागि ट्रम्पले नउक्साएको उनीहरूले बताएका छन् । ट्रम्पका वकिलहरूले उनीविरुद्ध सुनुवाइ गर्न खोज्नु असंवैधानिक भएको पनि दाबी गरेका छन् । उनी अहिले पदमा नरहेको र आमनागरिक भइसकेको वकिलहरूको तर्क छ । उनीहरूले महाभियोग प्रक्रियालाई डेमोक्र्याटहरूद्वारा गरिएको ‘राजनीतिक नौटङ्की’ र ‘एउटा निर्लज्ज राजनीतिक कार्य’ को संज्ञा दिएका छन् । ‘विपक्षी एवम् अल्पमतमा रहेको पार्टीलाई चुप लगाउन’ सुनुवाइको उद्देश्य रहेको उनीहरूको आरोप छ ।–बीबीसी