सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली, १७ मंसिर । भारतको दिल्लीका सबै विद्यालयहरू फेरि बन्द गर्ने घोषणा भएको छ । आजदेखि सबै विद्यालयहरू बन्द गर्ने निर्णय भएको दिल्लीका वातावरण मन्त्री गोपाल रायले बिहीबार जानकारी दिए । “अर्को सूचना जारी नभएसम्मका लागि भोलिदेखि दिल्लीका सबै विद्यालयहरू बन्द गर्ने निर्णय भएको छ,” मन्त्री रायले भने । उनका अनुसार दिल्लीमा वायु प्रदूषणको अवस्था अत्यन्त नराम्रो र घातक रहेकाले अनिश्चितकालका लागि विद्यालय बन्द गर्नुपरेको हो । विद्यालय खुल्लै राख्दा दिल्लीको वायु प्रदूषण झन झन बढ्दै गएको भन्दै सर्वोच्च अदालतले सरकारको ध्यानाकर्षण गरेको भोलिपल्ट सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले जनाएका छन् । सरकारले कामदारहरूलाई पनि घरबाटै काम गर्न आग्रह गरेको छ । सवारी साधनमा हिँड्डुल गर्दा वायु प्रदूषण बढ्ने र बाहिर हिँड्दा वायु प्रदूषणको असर बढी पर्ने भएकाले सवारी साधनमा हिँड्नु वा पैदल हिँड्नु दुवै घातक हुने विज्ञहरूको भनाइ छ । “वायु प्रदूषण न्यूनीकरणबाहेक दिल्लीको अहिलेको समस्या समाधान गर्ने अरू कुनै उपाय नै छैन, त्यसैले वायु प्रदूषण न्यून गर्ने उपायहरू अपनाउनु परेको हो,” मन्त्री रायले भने । दिल्ली सरकारले यसअघि गत नोभेम्बर २९ मा मात्रै दिल्लीका विद्यालयहरू पुनः सञ्चालनमा ल्याएको थियो । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेका दिल्लीका विद्यालयहरू अहिले फेरि वायु प्रदूषणका कारण बन्द गर्नुपरेको छ । विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठनपाठन नराम्रोसँग बिग्रिएको छ भने विद्यार्थीको भविष्य प्रति नै धेरैले चिन्ता व्यक्त गरेका छन् ।– रासस/एएफपी