अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीनको मृत्यु, आठ घाइते

बुधबार, मंसिर १५, २०७८

अक्सफोर्ड, १५ मङ्सिर । अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहारसम्वन्धी घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
देशको ओक्ल्याण्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा मङ्गलबार घटना भएको हो । 
विद्यालयका १५ वर्षीय एक विद्यार्थीले गोली प्रहार गर्दा किशोरावस्थाका तीन जनाको मृत्यु भएको हो भने अरु आठ जना घाइते भएका हुन् ।
गोली प्रहारको घटना भएलगत्तै ती किशोरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
अमेरिकामा विद्यालयमा गोली प्रहारका घटना बेला बेलामा भइरहने गरेको अधिकारीले जनाएका छन् । घाइतेमध्ये एक जना शिक्षक रहेका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये छ जनाको अवस्था सामान्य रहेको छ भने दुई जनाको शल्यक्रिया नै गरिएको चिकित्सकले जानकारी दिएका छन् । त्यसैगरी मृत्यु भएका तीनमध्ये दुई छात्रा छन् भने एक जना छात्र रहेका छन् । 
–रासस/एएफपी
 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १८:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार