जापानमा विदेशीलाई प्रवेश निषेध गर्ने तयारी 

मंगलबार, मंसिर १४, २०७८

टोकियो । जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ ।सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले जानकारी दिए ।  अफ्रिकी मुलुकहरुमा कोरोनाभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनको महामारी आफ्नो देशभित्र प्रवेश नगरोस भन्ने उद्धेश्यले विदेशबाट आउनेहरुलाई जापान प्रवेशमा निषेध गर्न लागिएको हो । “हामीले चाडै नै विदेशबाट आउनेहरुलाई देश प्रवेशमा रोक लगाउने छौँ, त्यो कुनै देश विषेशका लागि मात्रै नभएर विश्वभरीका कुनै पनि देशबाट आउनेहरुलाई रोक लगाउन लागिएको हो,” उनले भने ।  
प्रधानमन्त्री किशिदाले नोभेम्बर ३० तारिखदेखि प्रतिवन्धात्मक यो व्यवस्था लागू हुने पनि जानकारी दिए । जापानमा यसअघि पनि महामारीलाई न्युनिकरण गर्न भन्दै अधिकांश नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेहरुलाई परीक्षणमा कडाइ गरिएको थियो । 
तर गत नोभेम्बरको सुरुदेखि विदेशबाट आउनेहरुलाई प्रवेशमा खुकुलो बनाइएको थियो । नयाँ खुकुलो व्यवस्थाका आधारमा व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिषा भएकाहरुलाई प्रवेश गर्न दिइएको थियो ।
टोकियोले गत शुक्रवार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेहरुलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको थियो । 
यस्तो नियम अन्य देशहरुबाट आउनेहरुलाई पनि बढाउदै लगिने प्रधानमन्त्री किशिदाले जानकारी दिए । “कोरोनाभाइरसको महामारीविरुद्ध जापान सधैँ कठोर रुपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडा रुपमा उभिने छ,” प्रधानमन्त्री किशिदाले भने । 

उनले नयाँ भाइरसबाट जोगिन पनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने र प्रतिवन्धात्मक व्यवस्थाहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।    
जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ भने ७६.५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइसकिएको छ ।

ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्ध तत्काल हटाउन आह्वान

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतवार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गरेका छन् । रामाफोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान गरेका हुन् । 
राष्ट्रपतिले यस प्रतिबन्ध लगाउने कदमको आलोचना गर्नु भएको छ । यस प्रतिबन्धको कारण आफू गहिरो रूपमा निराश भएको पनि उनले बताएका छन् । 
कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण विश्वभरका थुप्रै देशहरुले दक्षिण अफ्रिका र उसका छिमेकीविरुद्ध यात्रा प्रतिबन्ध लगाएका छन् । 
दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, बेलायत , युरोपेली संघलगायत अन्य देशहरू रहेका छन्। दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको खाउतेङ प्रान्तमा विगत दुई सातामा यो भेरिएन्ट धेरै देखिएको थियो र अहिले अन्य प्रान्तमा पनि देखिएको छ ।
डब्लुएचओले देशहरूले हतारमा यात्रा प्रतिबन्ध लगाएकोबारे सचेत गराउँदै ती देशहरूले निर्णय गर्दा “जोखिम र वैज्ञानिक आधार“ हेर्नुपर्ने बताएको छ । यद्यपि, यो नयाँ भेरिएन्टबारे चिन्ता बढिरहँदा हालैका दिनमा थुप्रै प्रतिबन्धहरू लगाइएका छन ्।
आइतवार रामाफोसाले गर्नु भएको एक भाषणमा यात्रा प्रतिबन्ध लगाउँदा कुनै वैज्ञानिक आधारमा नलगाइएको र दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको बताएका छन् । उनले नयाँ भेरिएन्टको फैलावट रोक्नका लागि प्रतिबन्धहरु प्रभावकारी नहुने तर्क पनि गरेका छन् । यात्रामा लगाइने रोकले गर्ने एउटा मात्रै काम भनेको प्रभावित देशको अर्थतन्त्रलाई थप खराब पार्ने मात्र हो र महामारीविरुद्ध प्रतिक्रिया जनाउने क्षमतालाई कमजोर पार्ने मात्रै हो, उनले भनेका छन् । 
उनले यात्रा प्रतिबन्ध लगाएका देशलाई ‘हाम्रो अर्थतन्त्रमा थप हानी पुग्नुअघि. आफ्नो निर्णय तत्काल उल्ट्याउन’ आह्वान गरेका हुन् । 
ओमिक्रोन भेरिअन्टले निम्त्याएको अहिलेको आपतकालीन अवस्थालाई व्याख्या गर्दै रामाफोसाले खोपको असमानताबारे विश्वलाई जागरुक गराएको र सबैलाई खोप नदिइँदासम्म थप भेरिएन्टहरू टार्न नसकिने बताएको छन् ।  ओमिक्रोन अहिले बेलायत, जर्मनी, अस्ट्रेलिया, क्यानाडा, इटाली र इजराइललगायत विश्वका थुप्रै देशमा भेटिएको छ ।

पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन 
पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र र फ्रान्समा पनि कोरोनभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनबाट सङ्क्रमित भेटिएका छन् । 
फ्रान्सका स्वास्थ्य मन्त्रीले राती ओमिक्रोनबाट सङ्क्रमित शंकास्पद विरामी भेटिएको जानकारी दिए । पछिल्लो १४ दिनमा अफ्रिकाबाट आएकाहरुमा परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको उनको भनाई छ । सङ्क्रमित भएका मध्ये ८ जनामा कोरोनाभाइरसको नयाँ सङ्क्रमण ओमिक्रोन नै हुन सक्ने उनले बताए । 
त्यसैगरी पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा रहेको आप्रवासी शिविरमा पनि कम्तीमा दुई जनामा कोरोनाभाइरसको नयाँ संस्करण देखिएको छ ।
बेलारुसको ग्रोड्नो क्षेत्रका गभर्नर भ्लादिमिर कारानिकले आफ्नो देशमा पनि ओमिक्रोन भेटिएको पुष्टि गर्नु भएको हो ।  “हाम्रो स्वास्थ्य प्रयोगशालाले पनि उनीहरुमा ओमिक्रोन भेटिएको पुष्टि गरेको छ, उनीहरुको थप उपचार भइरहेको छ, थप फैलिन नदिनका लागि हामीले उच्च सतर्कता अपनाउनु पर्नेछ” उनले भने । युरोपेली मुलुक प्रवेश गर्नका लागि हजारौ शरणार्थीहरु पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा शरणार्थीको रुपमा बसेका छन् । उनीहरुका कारण अरुलाई पनि कोरोनाभाइरसको महामारी फैलिन सक्ने खतरा रहेको भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।–रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ०६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार