सोसल मिडिया
Contact Us
युनिकोड
न्युयोर्क, १२ मङ्सिर । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नु भएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारेका छन् । “पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो,” गभर्नरले भनेका छन् । कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उनको भनाइ छ ।
अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उहाँले स्पष्ट पार्नु भएको छ । शुक्रबार बेलुका निर्देशन जारी गर्दै उहाँले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता बृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए । त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ ।
दक्षिण अफ्रिकामा नयाँ कोरोनाभाइरसको रुपमा ओमिक्रोन कोरोनाभाइरस फैलिएको भन्ने सूचनाका आधारमा पूर्वसतर्कता स्वरुप पनि न्युयोर्कमा संकटकालको घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् । न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरुलाई पनि उच्च सतर्कता अपनाउन तथा प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गर्न आह्वान गरेको छ । त्यसैगरी बेलायत, क्यानडा लगायत कैयौं युरोपेली मुलुकहरुलाई समेत विदेशबाट आउने यात्रुहरुको प्रवेशमा कडाइ गर्न सुझाइएको छ ।
कोरोनाको नयाँ संस्करण भित्रिन नदिन अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ
अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा निर्णय गरिने स्पष्ट पारे । “सरकारले सीमा क्षेत्रमा प्रतिबन्धात्मक केही नयाँ व्यवस्था गर्न सक्छ, यस बारेमा अध्ययन र छलफल भइरहेको छ,” उनले बताए । पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा उहाँले नौ दक्षिण अफ्रिकी मुलुकहरुबाट अष्ट्रेलियामा हुने सबै उडान पनि बन्द गर्ने संभावना पनि रहेको स्पष्ट पारे । उनका अनुसार सरकारले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोट्सवाना, मालावी, मोजाम्बिकलगायतका देशहरुबाट अष्ट्रेलिया आउने उडान रद्ध गर्ने संभावना रहेको छ । तत्कालका लागि भने ती देशबाट आउनेहरुलाई उच्च सतर्कताका साथ जाँच गर्न र कुनै सङ्क्रमण र खतरा छैन भन्ने सुनिश्चिता गर्न निर्देशन दिइसकिएको पनि उनले बताए । त्यसैगरी अष्ट्रेलियाको नागरिक नभएको, अष्ट्रेलिया निवासी नभएको, आश्रितहरु अष्ट्रेलियामा नभएको लगायतलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइसकिएको पनि स्वास्थ्य मन्त्री हन्टले जानकारी दिए । अष्ट्रेलियाको नागरिक भएको, अष्ट्रेलिया निवासी भएको, आश्रितहरु अष्ट्रेलियामा भएको लगायतलाई भने अष्ट्रेलिया प्रवेश गर्न दिइएपनि कम्तीमा १४ दिन क्वारेन्टिन अनिवार्य रुपमा बस्नु पर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्री हन्टले अहिलेसम्म अष्ट्रेलियामा कोरोनाभाइरसको नयाँ संस्करण ओमिक्रोन नभेटिएको दावी पनि गरे । पुरानै संस्करणको कोरोनाभाइरसको सङ्क्रमण भने अझै पनि फैलिइनै रहेको छ । पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा एक हजार ४०० भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
कोरोनाको नयाँ संस्करणका कारण बेलायतद्धारा ६ मुलुकसँगको उडान सेवा बन्द
बेलायतले कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ । यही शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर ती आवत जावत बन्द गर्ने निर्णय गरिएको बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले जानकारी दिए । ओमिक्रोन नाम दिइएको नयाँ संस्करणको कोरोना भाइरस भेटिएको पुष्टि भएका र भेटिन सक्ने खतरा रहेका देशहरुबाट हुने उडान बेलायतमा प्रतिबन्ध लगाइएको हो ।
नयाँ भाइरस आफ्नो देशमा नभित्रियोस भन्ने उद्धेश्यले बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडानहरु स्थगित गरेको हो।
अधिकारीहरुका अनुसार अहिलेसम्म सो नयाँ भाइरस दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी तीन देशमा कुल ५९ जनामा मात्रै पुष्टि भएको छ । अहिलेसम्म पुष्टि भएका मध्ये सबैभन्दा खतरापूर्ण भइरस भएकाले र अहिले खोपले पनि काम गर्न नसक्ने भएकाले बेलैमा उच्च सतर्कता अपनाउनु परेको अधिकारीहरुको भनाइ छ।
त्यसैगरी पछिल्लो १० दिनभित्र ती देशमा गएर फर्किएका यात्रुलाई पनि बेलायत प्रवेशमा रोक लगाइएको छ । बेलायती नागरिकलाई भने उच्च सतर्कताका साथ परीक्षण गराएर क्वारेन्टिनमा राखेर मात्रै गन्तव्यमा जान पाउने व्यवस्था गरिएको छ । रासस/एएनआई