सोसल मिडिया
Contact Us
युनिकोड
शांघाईमा स्थानीय बासिन्दा कोभिड–१९ खोप लिँदै हाङझु इस्ट रेलवे ट्रेन स्टेशनमा घर फर्कन चाहनेको भिड
बेइजिङ । मानिसहरूको सबैभन्दा ठूलो आवतजावत भर्खर सुरु हुन लागेको छ । चीनमा दशौँ लाख मानिसहरू हजारौँ माइल यात्रा गरेर नयाँ वर्ष मनाउन आफ्नो घर जाने गर्छन् । कतिपयका लागि यो परिवार भेट्ने वर्षको एक मात्र अवसर हो । उनीहरू यो अवसर खेर जान दिन चाहँदैनन् । तर चाडपर्वको यो मौसम कोरोनाभाइरसको महामारी फैलाउने घटना बन्न सक्ने त्रास कायमै छ । चीनमा छुन च्ये भनिने यो पर्वले अघिल्लो वर्ष कोभिड–१९ को सङ्क्रमण फैलाउन उल्लेख्य भूमिका खेलेको विश्वास गरिएको छ । त्यही भएर चिनियाँ अधिकारीहरू देशको सबैभन्दा ठूलो पर्व स्थगित नगरीकनै कसरी मानिसहरूलाई स्थानीय रूपमा नै बस्न प्रोत्साहित गर्ने भन्ने समस्यामा देखिएका छन् । छुन च्ये जनवरी महिनाको २८ मा सुरु भएर मार्चको ८ तारिखसम्म चल्छ । जसले मानिसहरूलाई फेब्रुअरी १२ मा मनाइने चिनियाँ नववर्ष मनाउन हजारौँ माइल यात्रा गरेर फेरि आफ्नै ठाउँमा फर्कन समय उपलब्ध गराउँछ । साधारण अवस्थामा चीनमा प्रत्येक वर्ष यो अवधिमा झन्डै तीन अर्ब पटक यात्रा हुन्छ । तर गत वर्ष कोरोनाभाइरस फैलिन थालेपछि सरकारले यात्रामा प्रतिबन्ध लगाएको थियो । यातायत मन्त्रालयको तथ्यांकले बिदा मनाउन घर आउनेको तथ्यांक आधामा झरेको देखाएको थियो । यो वर्ष चीनको अधिकांश क्षेत्रमा जनजीवन सामान्य भइसकेको छ । अधिकारीहरूले यो वर्ष हुने यात्राको संख्या १.७ अर्ब हुन सक्ने अपेक्षा गरेका छन् । त्यसको तयारीका लागि बेइजिङले देशको जनसंख्याको साढे तीन प्रतिशत अर्थात् पाँच करोड मानिसलाई यात्राको मौसम सुरु हुनुअगाडि नै खोप दिने लक्ष्य लिएको थियो । तर केही समययता चीनको ग्रामीण क्षेत्रमा केही सङ्क्रमितहरू फेला पर्न थालेका छन् । पूर्वाेत्तरमा रहेको जिलिन प्रान्तको थोन्ग्वामा १३ जनामा सङ्क्रमण देखिएपछि २० लाख जना भएको उक्त स्थानमा लकडाउन गरिएको छ । प्रभावित सहरहरूमा स्पष्ट सन्देश दिइएको छ–यो वर्ष वसन्तयामको चाडपर्वका बेला यात्रा गर्न पाइनेछैन । तर कडा लकडाउन नभएको क्षेत्रमा हुनेहरूलाई भने पनि घर जान गाह्रो हुने देखिन्छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ग्रामीण क्षेत्रमा फर्कने व्यक्तिहरूले चाडपर्वका लागि यात्रामा निस्कनुभन्दा सात दिनअघि कोभिड–१९ परीक्षणको रिपोर्ट देखाउन भनेको छ । त्यसबाहेक उनीहरूले १४ दिन ‘घरभित्र निगरानीमा’ बस्नुपर्ने भनिएको छ । घर छाड्न पाइए पनि दैनिक रूपमा आफ्नो शरीरको तापक्रम जाँच गर्नुपर्नेछ । उक्त अवधिमा उनीहरूले भिड हुने ठाउँमा जान पाउनेछैनन् । प्रत्येक सात दिनमा कोभिडको जाँच गराउनुपर्नेछ । सामाजिक सञ्जालमा यी सर्तहरूबारे तत्कालै प्रतिक्रिया जनाउँदै धेरैले सहरमा काम गरेर चाडपर्वमा ग्रामीण क्षेत्रमा फर्कने आप्रवासी कामदारहरूलाई यो व्यवस्थाले नराम्रोसँग असर गर्ने बताए । यी व्यवस्थाहरूले यात्रालाई एकदमै अव्यावहारिक वा महँगो बनाउने देखिन्छ । तर अधिकारीहरूले चीनलाई सुरक्षित राख्न यस्तो सावधानी अपनाउनैपर्ने बताइरहेका छन् । एक जना पीएचडी गरिरहेका विद्यार्थीले आफ्नो स्वास्थ्य ठिक भएको र गाउँका नेताले समुदायले स्वीकार गर्ने प्रमाणपत्र दिएपछि मात्रै आफू घरतर्फ जान पाएको बताए । उनले नयाँ वर्षलाई पारिवारिक मिलनको समय भन्दै आफूले यो अवधि मनपर्ने मानिसहरूसँग बिताउन चाहेको उल्लेख गरे ।
पुरस्कार लकडाउनमा नभएका वा उच्च जोखिम भएका क्षेत्रमा बस्ने बहुसंख्यक व्यक्तिको हकमा अर्कै विधि अपनाइएको छ । हाङ्जो सहरले घर नजाने आप्रवासी कामदारहरूलाई एक हजार युआन अर्थात झन्डै १८ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । अन्य तीन सहरहरूले पनि घर नजाने कामदारहरूका लागि उपहारको घोषणा गरेका छन् । कामदारहरूलाई अनुदान उपलब्ध गराउन, निस्शुल्क खानाको व्यवस्था गर्न र सङ्क्षिप्त सांस्कृतिक यात्रा कार्यक्रमहरू आयोजना गरिदिन कम्पनीहरूलाई प्रोत्साहन गरिएको छ । कतिपय सहरमा स्थानीय रूपमा जन्मिएका व्यक्तिहरूले पाउने आवास र स्वास्थ्यमा प्रयोग गर्न मिल्ने विशेषाधिकार जस्ता सेवा कामदारहरूका हकमा पनि लागू हुनेगरी व्यवस्था गरिएको छ । यीउ सहरले सांस्कृतिक समारोहस्थलमा निस्शुल्क प्रवेश दिने भनेको छ ।
भ्रमण गर्नेको संख्या बालबालिकालाई हिउँदे शिविरमा निस्शुल्क सहभागी गराउने र नयाँ वर्षमा सञ्चालन हुने व्यवसायलाई अनुदान दिने उसको भनाइ छ । त्यहाँ बस्ने मानिसहरूले अस्पतालमा दर्ता शुल्क तिर्नुपर्ने छैन भने उनीहरूले स्वास्थ्य जाँचमा ५० प्रतिशत छुट पाउनेछन् । मानिसहरूलाई अन्यत्र नजान अनुरोध गर्दै ब्यानरहरू टाँसिएका छन् । बेइजिङमा एउटा ब्यानरमा लेखिएको छ, ‘आवश्यक नभई बेइजिङ नछाड्नुहोस्, आवश्यक नभई देशबाहिर नजानुहोस् ।’ कैयौँ कम्पनीहरूले खुला रूपमा नै आफ्ना कामदारहरूलाई बाहिर जान निषेध गर्ने भनिरहेका छन् । कैयौँ आप्रवासी कामदार गाउँबाट सहरी क्षेत्रमा काम गर्न आउने गर्छन् । कतिपयले आफूलाई घर जान कुनै कुराले नछेक्ने बताए पनि सम्भवततः पछिल्लो कडाइले त्यसलाई प्रभावित पार्नेछ । चिनियाँ नयाँ वर्ष देशबाहिर यात्रा गर्नेहरूका लागि पनि रोजाइको समय हो । सन् २०१९ मा ७० लाख चिनियाँ पर्यटकले नयाँ वर्षको समयमा विदेश भ्रमण गरेको चीनको सबैभन्दा ठूलो अनलाइन ट्राभल एजेन्सी सीट्रीपको भनाइ छ । अघिल्लो वर्ष कोभिड–१९ देखा परेपछि उक्त संख्या नाटकीय रूपमा कम भएको थियो । लकडाउनभन्दा अघि केही चिनियाँ पर्यटकले बाहिर जान पाएको भए पनि यसपालि त्यस्तो हुने कुनै सम्भावना देखिँदैन ।–बीबीसी