भारतमा ५० लाखले लगाए कोभिड–१९ विरुद्धको खोप 

शुक्रबार, माघ २३, २०७७

नयाँदिल्ली । करिब ५० लाख भारतीय नागरिकले खोप लगाएका छन् । गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको हो । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी छन् । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या  बिहीबारसम्म एक करोड आठ लाख २ हजारभन्दा बढी छ । 
विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ४०८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड आठ लाख २ हजार ५९१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । 
भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ८२३ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ८० हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ५५ हजार २५ जना सक्रिय सङ्क्रमित रहेका छन् । 
भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १५८ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र सात जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८७१ को मृत्यु भइसकेको छ ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड ९९ लाख ३१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधबार एकै दिनमा मात्र सात लाख १५ हजार ७७६ व्यक्तिलाई कोभिड¬–१९ परीक्षण गरेको शुक्रबार जनाइएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार