विदेश नीतिमा परिवर्तन ल्याउँदै बाइडन

यमनबाट पछि हट्ने घोषणा
शुक्रबार, माघ २३, २०७७

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारवाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन् । बाइडन अघिका दुई पूर्वअमेरिकी प्रशासनले यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाउँदै आएको थियो । ६ वर्ष भन्दा लामो समयदेखि जारी युद्धका कारण लाखौं मानिसहरूको लागि खाद्यान्न, औषधि र बस्ने ठाउँको आवश्यकता रहेको छ । जारी युद्धका कारण यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । अमेरिकी राष्ट्रपति बाइडनले विदेश नीतिको विषयमा दिएको पहिलो वक्तव्यमा यमनमा युद्ध अन्त्य हुनुपर्ने बताएका छन् । 
सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ शुरु भएको थियो । त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, बेलायत र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको हो । बिहीबारको घोषणापछि अब अमेरिकाले आक्रामक कारवाही रोक्ने र त्यसबाहेक साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई हतियारहरू पनि बिक्री गर्न बन्द गर्ने बताइएको छ । बाइडन प्रशासनले यसअघि नै साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई अस्थायी रूपमा हतियारहरु बेच्न  कार्यमा रोक लगाइसकेको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार