सोसल मिडिया
Contact Us
युनिकोड
वासिङटन । डेमोक्रयाटिक दलका दुई वरिष्ठ नेता सभामुख न्यान्सी पेलोसी र सिनेट भनिने माथिल्लो सदनका नेता चक सुमरले रिपब्लिकन पार्टीका नेताहरूलाई ‘वास्तविकता स्वीकार’ गर्न र कोरोनाभाइरसका कारण उत्पन्न संकटसँग जुझ्ने विषयमा सहयोग गर्न आग्रह गरेका छन् । अमेरिकी निर्वाचन पछिको पहिलो टेलिभिजन सम्बोधनका क्रममा पेलोसीले सङ्क्रमणको बढ्दो दर र मृत्यु हुनेहरूको संख्यालगायतका विषयलाई प्राथमिकताका साथ उठाएकी थिइन । अमेरिकामा लगातार आठ दिनसम्म कोरोनाभाइरस सङ्क्रमणका नयाँ घटना दैनिक एक लाख भन्दा बढीले थपिएको विषयलाई पनि उनले उठाइन । उनले राष्ट्रपति ट्रम्प र रिपब्लिकन दलले संकटलाई ‘बेवास्ता गर्दै’ चुनावमा नचाहिँदो रूपमा विवाद गरेको आरोप लगाइन् । उनीहरू अहिले बेतुकको सर्कसमा संलग्न छन् र ‘वास्तविकता स्वीकार गर्न अस्वीकार गर्दै छन्’ संकटसँग सामना गर्ने विषयलाई ‘झनै कठिन’ बनाएको भन्दै उनले भनिन् । ‘यो सर्कस बन्द गर र अमेरिकी जनतालाई साँच्चै मतलब हुने कार्य (उनीहरूको स्वास्थ्य र आर्थिक सुरक्षा जस्ता विषय) मा काम गर्न फर्क’, उनले भनिन् । सुमरले आर्थिक र स्वास्थ्य संकटलाई सल्टाउन डेमोक्रयाटिक दललाई सहयोग गर्न रिपब्लिकनहरूलाई आग्रह गरे । अमेरिकामा कोभिड १९ बाट सङ्क्रमित हुनेहरूको संख्या १ करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार त्यहाँ १ करोड ५ लाख १३ हजार ६८ जना सङ्क्रमित भएका छन् । त्यस्तै २४२,५२७ जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएको भए पनि डोनल्ड ट्रम्पले हालसम्म हार स्वीकार गरेका छैनन् । मतगणनामा समस्या देखिएको संकेत गर्दै उनले कानुनी बाटो रोज्ने बताउँदै आएका छन् । उनको यो अडानमा अधिकांश रिपब्लिकन दलका नेताहरूले समर्थन जनाए जस्तो देखिन्छ । यसै हप्ता एउटा कार्यक्रमका क्रममा अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले ‘राष्ट्रपतिको विरासतलाई सहयोग नगर्ने’ बताएका थिए । यसैबीच विगतमा दक्षिण अफ्रिकाका दिवंगत नेता नेल्सन मन्डेलाको नेतृत्वमा गठन भएको पूर्वविश्व नेताहरूको समूहले हार स्वीकार नगरेको विषयमा ट्रम्पको निन्दा गरेका छन् । उक्त कार्यले ‘अमेरिकी प्रजातान्त्रिक पद्धतिलाई जोखिममा पारेको’ उनीहरूले बताए ।