ए डिभिजन लिग : ब्रिगेड ब्वाइजलाई महत्त्वपूर्ण तीन अंक, एपीएफ पराजित

आइतबार, मंसिर ५, २०७८

काठमाडौं,५ मंसिर : रोमाञ्चक खेलमा विभागीय एपीएफ फुटबल क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगमा सुखद् सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो खेलमा एपीएफलाई ३-२ गोलले पराजित गर्दै ब्रिगेडले महत्त्वपूर्ण तीन अंक जोडेको हो ।  ब्रिगेडक लागि दिनेश राईले दुई तथा सुरज गुरुङले  एक गोल गरे ।  एपीएफका लागि आशिष लामा र बिक्की तामाङले समान एक एक गोल फर्काए । 

योसँगै एपीएफका प्रशिक्षक कुमार थापाको ए डिभिजन लिगमा  प्रशिक्षक जिम्मेवारी सुखद् हुन सकेन । मनाङ मर्स्याङ्दी क्लबबाट तीन पटक  लिगको उपाधि दिलाएका थापाले पहिलो पटक ए डिभिजन लिग हारेका हुन् । 

खेलको१४ औं मिनेटमा ब्रिगेडका दिनेश राईले सुरुवाती अग्रता बनाए । उनले करिब ३५ यार्डबाट हानेको फ्री किक "सेकेन्ड बारको टप कर्नर" मा सिधै लाग्न पुगेको थियो ।  स्पेनबाट व्यावसायिक फुटबल खेल्दै आएका आवास लामिछानेको उत्कृष्ट पासमा एपीएफका फरवार्ड आशिष लामाले १९ औं मिनेटमा १-१ को बराबरी गोल गरे। 

६५ औं मिनेटमा दिनेश राईले व्यक्तिगत दोस्रो तथा टोलीको लागि २-१ को अग्रता दिलाए। दिनेशले विदेशी खेलाडी ड्याडी जुनियरको पासमा सदुपयोग गरे ।  यसपछि रवि थिङको पासमा एपीएफका वैकल्पिक खेलाडी विक्की तामाङको खेलको ७७औं मिनेटमा २-२ को बराबरी गोल गरे ।  खेलको ९० मिनेटपछि थपिएको समयमा सुरजले गोल गर्दै महत्त्वपूर्ण तीन अंक दिलाए । सुरजले वैकल्पिक भुवन बस्नेतको पासमा गोल गरेका थिए ।  यसअघि दुवै टोलीले केही गोल गर्ने अवसर बनाए । तर, दुवै टोलीले सदुपयोग भने गर्न सकेनन् । 

४४ औं मिनेटमा ब्रिगेडका  कप्तान रोशन राना मगरले गरेको प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएको थियो।  ४९ मिनेटमा मिनेटमा एपीएफका आशिष लामाको प्रहार क्रसबारमा ठोक्किएर फर्किएको थियो । खेलको म्यान अफ दि म्याच ब्रिगेड ब्वाइज क्लबका कप्तान रोशन राना मगर भए । उनले १० हजार रुपैयाँ पाए ।  दिनको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिमानी आठौं पटकको मनाङ र जावलाखेलबीचको खेल ४:४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार मनाङ जावलाखेललाई हराएर सुखद सुरुवात गर्ने योजनामा हुनेछ । राजेन्द्र तामाङको  प्रशिक्षणमा रहेको मनाङ अन्जन विष्टको कप्तानीमा हुनेछ भने किशोर केसीको प्रशिक्षणमा रहेको जावलाखेल कुलदिप कार्कीको कप्तानीमा छ ।  जावलाखेल मनाङलाई हराउदै अप्रत्याशित नतिजा दिन चाहन्छ ।  १४ क्लबले प्रतिस्पर्धा गरिरहेको  लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा झर्नेछन् । शनिबार भएको खेलमा संकटा क्लब र हिमालयन शेर्पाले १-१ गोलको बराबरी खेल्दै अंक बाढे भने थ्री स्टारले छिमेकी च्यासल युथलाई ३-० ले पराजित गर्दै शीर्षस्थानमा रह्यो । यसअघि उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र नव प्रबेशी सातदोबाटोले गोल रहित बराबरी खेले । 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार